रेशम चौधरीको उम्मेदवारी खारेज

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण
रेशम चौधरीको उम्मेदवारी खारेज

१९ पुस ०७५ मा प्रतिनिधिसभा सदस्यकाे सपथ ग्रहणपछि रेशम चाैधरी । तस्बिर : नयाँ पत्रिका अर्काइभ

बर्दिया– २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न आवेदन दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । क्षेत्र नम्बर २ कै संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेज गरेको हो । 

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा १३ को उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थाबमोजिम र सोही ऐनको दफा २३ को मनोनयनपत्र बदर हुने व्यवस्थाबमोजिम रेशमलाल चौधरीको उम्मेदवारीको मनोनयनपत्र खारेज गरिएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।

चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको र उच्च अदालतले पनि सो फैसलालाई सदर गरेपछि कारागार कार्यालय डिल्लीबजारमा कैद भुक्तानको क्रममा रहेको जानकारी गराइएको छ । 

उनी १४ फागुन ०७४ देखि १४ फागुन २०९४ सम्म कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा राखिएको पत्र प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सोहीअनुरूप उम्मेदवारको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत लम्सालको भनाइ छ । 

सुझावित समाचार