सिराहामा दुई बहालवाला मन्त्रीसहित विभिन्न दलका पाँच निवर्तमान सांसद पुनः दोहोरिन उम्मेदवारी दर्ता गराएका छन् । आठवटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिराहामा एक सय २९ जनाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएको छ । जसमा पुनः दोहोरिने गरी दुईजना मन्त्रीसहित पाँचजना निवर्तमान सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।
निवर्तमान सांसदहरू सिराहा १ (ख)मा एकीकृत समाजवादीबाट अशोककुमार यादव, सिराहा २ (क)मा जसपाका विजयकुमार यादव, २ (ख)मा एकीकृत समाजवादीका मदनसेनप्रसाद श्रीवास्तव, सिराहा ३ (ख)मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव र सिराहा ४ (ख) मा जसपाका सुरेश मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेमा दुईजना बहालवाला मन्त्रीसमेत छन् । सिराहा २ (क)बाट उम्मेदवारी दर्ता गराएका विजयकुमार यादव मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । सिराहा ३ (ख)बाट उम्मेदवारी दर्ता गराएका प्रमोदकुमार यादव कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री हुन् ।
सिराहा ४ (ख)बाट उम्मेदवार बनेका सुरेश मण्डल पूर्वपर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुन् । सिराहा २ (ख)बाट उम्मेदवारी दर्ता गराएका मदनसेन मधेस प्रदेशको कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति छन् ।
०७४ मा प्रत्यक्षतर्फ निर्वाचित तीनजना प्रदेश सांसदले टिकट पाएनन् । सिराहा १ (क)मा एमालेका लगनलाल चौधरी, सिराहा २ (ख)मा माओवादी केन्द्रका रामकुमार यादव र सिराहा ४ (क)मा माओवादीकै दिलीप साहले टिकट पाएका छैनन् ।