नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागमतीले फेन्सिङमा पहिलो स्वर्ण जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा सोमबार फेन्सिङमा शिक्षा नापितले व्यक्तिगत सेबरतर्फ स्वर्ण जितेकी हुन् ।
नापितले एपिएफकी उर्मिला लामालाई हराइन् । नापित पोखरामा पहिलो स्वर्ण जिल्ने खेलाडीसमेत बनेकी छिन् । राउन्डरोबिनका आधारमा हुने प्रतिस्पर्धामा सवार्धिक अंक हात पार्ने खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् ।दुई विभागीयसहित ६ टोलीको सहभागिता रहेको प्रतियोगिता सेबर, इपी र फोयल विधामा एकल र समूहगत विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । गण्डकी, सुदूरपश्चिम, बागमती र प्रदेश १ सँगै नेपाली सेना र एपिएफले सहभागिता जनाएका छन् ।
पुलिसको फराकिलो जित
प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको पुलिसले १६ ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन जोडेको थियो । लक्ष्य पछ्याएको इनिङ्स वर्षाका कारण पूरा समय खेल हुन पाएन । वर्षाले खेल रोकिनुअघि कर्णालीले १०.२ ओभरसम्म ब्याटिङ गरेको थियो ।
अम्पायरले डकवर्थ लेविस नियमअनुसार पुलिसलाई ६३ रनले विजयी घोषणा गरे । कर्णालीले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । खेलमा पुलिसका लागि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । खड्काले २१ बलमा दुई चौकासहित २५ रन बनाइन् । रेवती धामीले १४ रनको योगदान गरिन् । कर्णालीका लागि दीक्षा पुरीले सात, दिव्या रानाले तीन र करिश्मा राईले एक रन बनाए । कर्णालीका पाँच खेलाडीले रन बनाउन सकेनन् ।
ह्यान्डबल सुरु
ह्यान्डबलअन्तर्गत महिलातर्फको पहिलो खेलमा प्रदेश १ ले कर्णालीलाई २६–४ ले हराएको छ । अर्को खेलमा आर्मीले मधेसलाई ४६–२ ले हरायो । आर्मीकी शान्तिकला राईले सर्वाधिक १४ गोल गरेकी थिइन् । पुरुषको उद्घाटन खेलमा घरेलु टोली गण्डकीले मधेसलाई ६६–१३ ले पाखा लगायो । खेलमा गण्डकीका चन्द्र केसीले सर्वाधिक १० गोल गरे । अर्को खेलमा सेनाले बागमतीलाई ४३–८ स्कोरले निराश बनाएको छ । आर्मीका आकाश अधिकारीले सर्वाधिक आठ गोल गरेका थिए ।
एपिएफ क्लबले लुम्बिनीमाथि ३६–१३ को जित निकाल्यो । एपिएफका सन्दीप कार्की र लुम्बिनीका शरण थापाले समान नौ स्कोर गरेका थिए । ह्यान्डबलमा सात प्रदेश र दुई विभागीय टोलीले भाग लिइरहेका छन् ।