टिकट नपाएपछि जसले पार्टी छाडे

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी त्यागेका छन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका देउवानिकट नेता पौडेलले बाग्लुङलगायत देशभर बाँडफाँड भएको सिटप्रति असहमति जनाउँदै पार्टी त्यागेका हुन् । उनको क्षेत्र बाग्लुङ १ मा सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी उम्मेदवार बनेका छन् ।

एमाले प्रदेश १ समिति सचिवालय सदस्य डिल्लीप्रसाद शर्मा अधिकारीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् । उनी मोरङ १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । उनीसँगै केराबारी गाउँपालिकाका एमाले अध्यक्षसहित २० कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अधिकारीको ठाउँमा एमालेले खड्ग बस्नेतलाई टिकट दिएको छ ।

टिकट वितरणमै असन्तुष्टि जनाउँदै एमाले मोरङ जिल्ला सचिव रूपेश खतिवडा र सचिवालय सदस्य मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् । सचिव खतिवडा मोरङ १ (क)बाट र सदस्य कट्टेल २ (क)बाट प्रदेश सभा सदस्य उम्मेदवारका अकांक्षी थिए । तर, एमालेले खतिवडाको ठाउँमा उमाकान्त गौतम र कट्टेलको ठाउँमा म्यानपावर व्यवसायी डिबी कार्कीलाई टिकट दिएको छ ।

कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् । यस्तै कञ्चनपुरका एमाले नेता खेम सुवेदी तथा प्रदेशसभा सदस्यद्वय जयराम पाण्डे र टेक हमालले पार्टी छाडेका छन् ।

रोल्पामा माओवादी पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुनले पार्टी परित्याग गरेका छन् । आइतबार रोल्पा सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरेर पुनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरे । लुम्बिनी प्रदेश सांसदसमेत रहेका पुनले स्वतन्त्रबाट रोल्पा (ख) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको विरोधमा माओवादीका प्रदेश कमिटी सदस्यसहित ३७ जनाले सामूहिक राजीनामा दिएका छन् ।

See More On

सुझावित समाचार