हाम्रो निर्वाचन प्रणाली र लोकतन्त्रको कुरूप अनुहार

प्रत्यक्ष होस् वा समानुपातिक समावेशी, दुवै निर्वाचन प्रणाली लोकतन्त्रका नाममा धनिक वर्गको पक्षमा आमजनतालाई भुलाउने खेल मात्र हुन्

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

कार्ल मार्क्सले ‘अन दी ज्युज क्वेस्चन’मा १६औँ शताब्दीका एकजना पश्चिमी विद्वान् थोमस मुन्तजरको चर्चा गरेका छन् । मुन्तजरले आफ्नो समयमाथि प्रतीकात्मक रूपमा व्यंग्य गर्दै लेखेका थिए– ‘हेर, हाम्रा सम्राट र सबै शासकगण अहिले सुदखोर साहुहरू, चोर र डाँकाहरूका चाकरीमा छन्, उनीहरूले समस्त चराचर जगत्लाई आफ्नो कब्जामा पारेका छन् । समुद्रमा बाँच्ने माछा, हावामा उड्ने चराचुरुंगी तथा यस वसुन्धराका सबै उत्पादन, सबै उनीहरू कहाँ पुग्नुपर्छ ।’

दार्शनिक तात्विक चिन्तामा चिरन्तनता र युगीन चिन्तानिहित हुन्छ । राजनीतिका भने आफ्नै विडम्बना हुन्छन् । सामाजिक परिवर्तनका अनेकौँ महत्वपूर्ण र दूरगामी उद्देश्य बोकेर गतिशील रहे पनि, राजनीतिका तात्कालिक र समसामयिक प्रस्थान र गन्तव्य पनि हुने गर्छन् । त्यसैकारण, राजनीतिज्ञ र सिद्धान्तकारहरू तात्कालिक आवश्यकताअनुसार आफ्ना विश्लेषण तथा तात्कालिक कार्यभारमा हेरफेर गरिरहन्छन् । तर, राजनीतिको तात्कालिक स्वरूपमा जतिसुकै हेरफेर गरिए पनि यसको दार्शनिक लक्ष्य र अनुहार हमेसा प्रस्ट र खुला हुने गर्छ । 

यहाँ दलबदलु वा अवसरवादी राजनीतिको कुरा गरिएको छैन । उनीहरूका निम्ति त विगत, वर्तमान र भविष्य, जुनसुकै परिप्रेक्ष्यमा निजी स्वार्थको अतिरिक्त देश, काल, समाज, मानवीयता भन्ने केही हुँदैन । विद्वान् मुन्तजरको कथन १६औँ शताब्दीमा आहत मानवीयताप्रतिको दार्शनिक चिन्ताको व्यंग्यात्मक अभिव्यक्ति हो ।अहिलेको राजनीतिक–सामाजिक वर्गीय आघात–प्रतिघात झन्झन् जटिल हुँदै गएको छ । तर, कस्तो अचम्म ! पाँच शताब्दीपछि विश्वको बाह्य आवरणमा फरक आए पनि शोषणको मूल आधार र तात्कालिक राजनीतिक परिवेश पनि उस्तै–उस्तै देखिन्छ । ‘... सबै शासकगण सुदखोर साहुहरू, चोर र डाँकाहरूको चाकरी...’ मा रहेजस्तो । समग्र राजनीति नग्न अवसरवादी व्यवसायमा परिणत भइसकेको छ । चौतर्फी नक्कलीपन व्याप्त छ । हुँदाहुँदा संविधानमा समेत नक्कलीपन देखिन थालेको छ । 

यसपटकको चुनावी माहोलमा संवैधानिक प्रावधानको जसरी निर्मम दुरुपयोग देखिँदै छ, त्यसले वर्तमान संविधानलाई मुट्ठीभरि धनाढ्य वर्गलाई झन् धनाढ्य बनाउने सबैभन्दा प्रभावशाली हतियार प्रमाणित गरिदिएको छ । वर्तमान संविधानको यो निरीहता र धनिकवर्गप्रतिको पक्षधरता संविधान जन्मँदै वेलादेखिको हो । ०७२ सालमा एमालेबाट सांसद हुन सफल व्यवसायी राज्यलक्ष्मी गोल्छाले प्रस्ट भनिन्, “एमालेलाई सात करोड रुपैयाँ सहयोग गरेर सांसद भएकी हुँ ।” नेकपा (एमाले)ले अहिलेसम्म यसको खण्डन गर्ने हिम्मत गरेको छैन । तीन वर्ष पहिले एउटा कार्यक्रममा एमाले अध्यक्ष केपी ओली आफैँले ‘उद्योगी व्यवसायीलाई सरकारको ज्वाइँ’ भनेका थिए । नेपाली राजनीतिमा ओलीका भनाइ सटिक बस्छ । यो एमाले मात्रको सन्दर्भ पनि होइन, कुनै पनि पार्टी यस प्रवृत्तिबाट मुक्त छैन ।

धनिक वर्ग साँढेजस्ता भएका छन्, जो इच्छा लागेको जुनसुकै राजनीतिक खेतमा चर्न सक्छन् । यसपटक एउटा पार्टीबाट सांसद हुने पुँजीपतिहरू अर्कोपटक अर्को पार्टीबाट सहजै सांसद बन्न सक्छन् । स्थिति कस्तो छ भने, यी धनाढ्यहरूलाई आफ्नो पार्टीमा स्वागत गर्न नेताहरू हमेसा लालायित रहन्छन् । समानुपातिक समावेशिताको प्रयोग गरेर विनोदकुमार गोल्छा, राज्यलक्ष्मी गोल्छा, उमेश श्रेष्ठ, दिवाकर गोल्छा, विमल केडिया, मोतीलाल दुगड आदि नेपालका ठूला धनाढ्यहरू प्रतिनिधिसभामा सांसद र मन्त्रीसमेत हुन सफल भएका प्रतिनिधि पुँजीपति हुन् । यी पुँजीपतिहरूले निर्वाचन लड्दैनन् ।

आर्थिक, सामाजिक, शैक्षिक अर्थात् बहुआयामिक दृष्टिले पछाडि परेका लिंग, जाति, समुदाय र क्षेत्र (विपन्न खस–आर्यसमेत)लाई राज्यका निकायमा सहभागी गराउन संविधानमा संघीय संसद्मा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हो । तर, अहिले यो समानुपातिक समावेशी निर्वाचनको प्रतिस्पर्धामा आउन नचाहने ठूला नेताहरू तथा पुँजीपतिलाई संसद्मा पुर्याउने माध्यम बनेको छ । सीमान्तकृत समुदायका निम्ति आरक्षित संसदीय सिटहरूमा यसपटककोे निर्वाचनमा राजनीतिक पार्टीका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारी, केन्द्रीय सदस्यहरू, नेताका श्रीमती, छोराछोरी, निकट नातेदार र आर्थिक दाताहरू विगतभन्दा बढी नै देखिएका छन् । यसरी वर्गीय दृष्टिले हेर्दा दलित, महिला, मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस–आर्य (विपन्न) सबै कित्ताबाट धनिक वर्ग नै चयन गरिएका हुन्छन् । 

समग्र राजनीति नग्न अवसरवादी व्यवसायमा परिणत भइसकेको छ । समानुपातिक समावेशी निर्वाचनको प्रतिस्पर्धामा आउन नचाहने ठूला नेता तथा पुँजीपतिलाई संसद्मा पुर्याउने माध्यम बनेको छ ।

करोडौँ–करोड रुपैयाँँको कारोबारमा परिणत भइसकेको प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्नु आममानिसका निम्ति आकाशको फलजस्तै दुर्लभ छ । समानुपातिक समावेशी (संसदीय पक्षधरले दाबी गरेजस्तै) लोकतान्त्रिक सीमित अवसरका रूपमा भनिए पनि यसपटक यो कथित लोकतान्त्रिक अवसर पनि नग्न भएको छ । वस्तुतः संसदीय व्यवस्थाका आलोचकले भनेजस्तै यसपटक बुर्जुआ लोकतन्त्र पूर्ण रूपमा नग्न मजाकमा परिणत भएको देखिन्छ । 

संविधानमा समानुपातिक समावेशीको प्रावधान राख्ने वेलाको सुरुवाती बहसबारे रोचक प्रसंगको चर्चा सान्दर्भिक हुनेछ । त्यतिवेलाका बहसमा खस–आर्यलाई पारम्परिक शासक जाति भएको तथा राज्यसत्ताका सबै अवसरमा यिनका अगुवाहरूको वर्चस्व रहेकाले सीमान्तकृत, पछाडि पारिएका तथा विपन्न समुदायका निम्ति विशेषाधिकारका रूपमा समानुपातिक समावेशीको व्यवस्था गर्नुपर्ने भनियो । त्यतिवेला माओवादीहरूले पछाडि पारिएकाहरूको समानुपातिक समावेशिताको आधार जातीय, सांस्कृतिक वा समावेशी मात्र होइन, प्राथमिकतामा सबैभन्दा माथि वर्गीयतालाई राख्नुपर्ने प्रस्ताव गरेको थियो । समानुपातिक समावेशिताको आधार वर्गीय भएमा पुँजीपति वर्गको वर्चस्व खतरामा पर्ने भएकाले यस प्रस्तावमाथि प्रायः सबै राजनीतिक दलले अरुचि देखाए ।

यसरी संविधानमा समुदायअनुसार समानुपातिक क्लस्टर बनाउँदा सुरुमा वर्गीयको आधार र पारम्परिक शासक जाति भएकाले खस–आर्य, दुवै समावेश गरिएन । तर, पछि चोरबाटोबाट समानुपातिक सूचीमा सबैभन्दा माथि ‘खस–आर्य (विपन्न वर्गबाट)’ कलमले लेखेर थपियो । यसले एकातिर परम्परागत शासन सांस्कृतिक समुदायलाई नयाँ व्यवस्थामा पनि अग्रता दिएको थियो भने अर्कातिर विपन्न वर्गबाट खस आर्यबाहेक अरू सबैलाई छुटाइएको थियो । रोचक के छ भने समानुपातिक क्लस्टरमा खस–आर्य (विपन्न वर्गबाट) को अनुपात सबैभन्दा बढी ३१.२ थियो । समग्रमा संविधानमा समानुपातिक समावेशीको प्रावधान त्यतिवेलादेखि नै धनिक वर्गको गोरखधन्दा थियो । 

अपेक्षाअनुरूप, समानुपातिक क्लस्टरका अन्य समुदायमा बाध्यता नभएकाले धनिक वर्गले सहजै मौका पाउनु स्वाभाविक नै भयो । मजा त ‘खस–आर्य (विपन्न वर्गबाट)’ भन्नेमा छ । यसपटक खस–आर्य क्लस्टरमा ‘विपन्न’हरू राप्रपामा प्रकाशचन्द लोहनी र पशुपतिशमशेर राणा सिट सुनिश्चित गर्न झगडा गरिरहेका छन् । यस्तै, विभिन्न पार्टीको विपन्न खस–आर्यमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा, प्रकाशशरण महत, आनन्दप्रसाद ढुंगाना, रघुजी पन्त, एकनाथ ढकालजस्ता अनेकौँ राजनीतिक र आर्थिक अगुवाहरू छन् । यी नामहरू खस–आर्य समुदायबाट प्रतिनिधिमूलक मात्र हुन् । वस्तुतः खस–आर्यको विपन्न वर्गको सिट कब्जा गर्ने होडमा धनाढ्यहरू समानुपातिकको सूचीको अग्रपंक्तिमा सबै पार्टीमा देखिन्छन् । यसबाट के बुझिन्छ भने, प्रत्यक्ष होस् वा समानुपातिक समावेशी दुवै चयन प्रणाली लोकतन्त्रका नाममा धनिक वर्गको पक्षमा आमजनतालाई भुलाउने खेल मात्र हो । 

यसको जनवादी विकल्प जनप्रतिनिधि चयनका निम्ति वर्गीयतालाई मुख्य आधार बनाई वर्ग र समुदायबाट पूर्ण समानुपातिक निर्वाचन प्रणाली उपयुक्त हुन सक्छ, जसले समाजमा रहेका बहुल श्रमजीवि र विपन्नवर्गको प्रतिनिधित्व सुनिश्चित गर्न सक्छ । यो चुनौतीपूर्ण छ, तर न्यायिक छ । तर, अहिले त नेपाली जनता एउटा असमान, अनैतिक र भेदभावपूर्ण निर्वाचन प्रणालीलाई नै लोकतान्त्रिक मान्न बाध्य छ । वर्तमान लोकतन्त्र देशी–विदेशी बजार, पुँजी, कमिसन, राजनीतिक एजेन्ट, प्रहरी र सेनालगायत सशस्त्र जत्थाको बलमा आधारित पुँजीवादी तानाशाही हो भन्ने प्रस्ट प्रमाणित हुन्छ । अवसरको लोभमा बरु यसको औचित्य पुष्टि गर्ने तथा गुणगान गर्ने व्यापक बौद्धिक नागरिक समाज छ । 

वस्तुतः यो लोभ, लालच, आर्थिक अवसर, भय र आघात–प्रतिघातमा आधारित एउटा सत्ता संस्कृति हो । यसमा आपसी संघर्ष छ, विश्वासमा प्रोत्साहन र धोकामा पदत्याग पनि छ, तर संसदीय संस्कृतिको सीमाभित्र छ । घनश्याम भुसाललगायत, टिकट नपाएपछि पार्टी र पदत्याग गर्नेहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । उनीहरूले यस त्यागलाई अनेक नैतिक आवरण ओढाउँदै छन् । तर सत्ताले आमजनतासँग गरेका अनेकौँ धोका र दमनको विरोधमा पद वा पार्टी त्याग गरेको भए फरक महत्व हुन्थ्यो । तर, उनीहरू यस्तो गर्न सक्दैनन् । किनभने, यसका निम्ति संसदीय नैतिकता नाघ्ने स्थिति पनि आउन सक्थ्यो । 

१६औँ शताब्दीको विद्वान् मुन्तजरको धारणा तत्कालीन धार्मिक समाजको आलोचना थियो, जहाँ बजार विकसित हुँदै थियो । आफ्ना सबै नैतिकतावादी घोषणापछि पनि धर्मले मानिसलाई आर्थिक–सामाजिक र राजनीतिक शोषण गर्छ भन्ने माक्र्सको मान्यता थियो । त्यसैले, उनले मुन्तजरको प्रतीकात्मक कल्पनामा थपे : “सबै जीवजन्तु सम्पत्तिमा परिवर्तित भइसकेका थिए, समुद्रमा माछा, आकाशमा चरा र पृथ्वीमा रूख–बिरुवा सबै, तर सबै प्राणी, यहाँसम्म कि जीवजन्तुहरू पनि, (शोषणबाट) मुक्त हुनुपर्छ ।”
 

सुझावित समाचार