घोडादौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । जुम्ला विमानस्थलमा हरेक वर्ष दसैँको फुलपातीको दिन आयोजना गरिने घोडादौड प्रतियोगिता पछिल्लो २२ वर्षदेखि त्यहाँ आयोजना हुन सकेको छैन ।
०५६–०५७ मा जुम्ला विमानस्थल कालोपत्रे भएपछि त्यहाँ प्रतियोगिता आयोजना गर्न रोकिएको हो । त्यसयता कर्णाली स्पोर्टस् क्लब जुम्लाले चन्दननाथ नगरपालिका– ५ राजसिमचौरमा पुरानो जुम्ली संस्कृतिलाई जगेर्ना गर्दै आएको छ । यही क्रममा यस वर्ष पनि प्रतियोगिता आयोजना भयो ।
घोडादौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीनवटा विधामा पुरस्कार प्रदान गर्ने गरिन्छ । यस वर्ष खुलातर्फ गुठीचौर गाउँपालिका– २ गडिगाउँका विकास बोहरा प्रथम, सोही गाउँका शंकर रोकाया द्वितीय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भए ।
यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका– १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका– ५ कुम्डीका बिर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर– २ कुडीका मुनसुर बोहरा तृतीय भए ।
कदमतर्फ चन्दननाथ नगरपालिका– ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर– १ गडिगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर– २ कोल्तेका कालीप्रसाद बोहराले तृतीय स्थान हासिल गरेको क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए । प्रतियोगितामा ३३ घोडसवार सहभागी थिए ।



