बजार अनुगमनमा मूकदर्शक सरकारी संयन्त्र

अस्वस्थ व्यावसायिक गतिविधिबाट पाठ सिकेर सुधारका लागि अग्रसर हुनुको सट्टा सरकार मूकदर्शक बन्दा उपभोक्ता मारमा

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

नेपाली उपभोक्ताको पर्व दसैँ, तिहार, छठ नजिकै आइसकेको छ । बजारमा क्रेता (उपभोक्ता)को भिडभाड बढ्न थालेको छ । विगतका वर्षमा कोेभिड– १९ का कारण उल्लासपूर्वक मनाउन पाएनन् । यो वर्ष मनाउने तयारीमा रहेका उपभोक्तालाई पनि बजारले खुसी होइन, दुःखी बनाएको छ । अत्यावश्यक वस्तुको अस्वाभाविक र कृत्रिम रूपमा मूल्यवृद्धि भइरहेको छ । बजारमा विभिन्न बहानामा उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवा क्षेत्रमा मूल्य, गुणस्तर र नापतौलमा ठगिने क्रम पनि बढिरहेको छ ।

चाडपर्वका वेला बढी खपत हुने वस्तुको अस्वाभाविक मूल्यवृद्धि हुने पुरानै प्रवृत्ति हो । खासगरी, लत्ताकपडा, खाद्यान्न, तरकारी, फलफूल, मिठाई, यातायातको भाडादरलगायतमा हुने मूल्यवृद्धिले उपभोक्ता बर्सेनि प्रताडित भएका छन् । बर्सेनि हुने यस्ता अस्वस्थ व्यावसायिक गतिविधिबाट पाठ सिकेर सुधारका लागि सरकारी संयन्त्र अग्रसर हुनुको सट्टा मूकदर्शक बन्ने गरेका छन् । जसले गर्दा उपभोक्ता बारम्बार अस्वस्थ व्यावसायिक क्रियाकलापको सिकार बन्दै आएका छन् । 

सरकारले पछिल्लो समय उपभोक्ता संरक्षण ऐन, २०७५ जारी गरेर बजार गतिविधिमा नियमन गर्ने प्रयास गरे पनि व्यवहारमा उतार्न सकेको छैन । रुस–युक्रेन जारी युद्धले विश्व अर्थतन्त्रको मूल्य शृंखलामा प्रतिकूल प्रभाव पारेको छ । ठूला शक्तिराष्ट्रले रुसलाई आर्थिक नाकाबन्दी लगाउने प्रयास गर्दा पेट्रोलियम पदार्थको मूल्य निकै माथि पुगेको थियो । अन्य वस्तु तथा सेवाको आपूर्तिमा समेत अवरोध हुँदा अधिकांश वस्तुको अन्तर्राष्ट्रिय मूल्य नै वृद्धि हुन पुगेको छ । त्यसको सोझो असर नेपालमा आयात हुने वस्तु तथा सेवाको समेत मूल्यवृद्धि भई उपभोक्ता मारमा परेका छन् । आयातमा निर्भर हाम्रो अर्थतन्त्रमा अन्तर्राष्ट्रिय बजारमूल्यले सोझै प्रतिकूल प्रभाव पार्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमूल्यका कारण शिथिल बनेको नेपालको अर्थतन्त्र सुधार गर्न सरकारले आयातमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । यसबाट विदेशी मुद्रा सञ्चिति जोगाउने नीति लिइए पनि उपभोक्ता भने महँगोमा वस्तु तथा सेवा खरिद गर्न बाध्य छन् । अर्कातिर राष्ट्र बैंकको मार्जिन, आयातमा प्रतिबन्धपछि उत्पादनमा गिरावटलगायत विभिन्न कारण र बजारमा सरकारको कमजोर नियमनले अस्वाभाविक मूल्यवृद्धि भएको छ । 

संविधानप्रदत्त मौलिक हक कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा परेको छैन । यस्तै, अनुगमन, नियमन र कानुन कार्यान्वयन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छोटो समयमै नेतृत्व परिवर्तन हुँदा उपभोक्ता हित र स्वच्छ बजार कायम गर्ने आवश्यक नीति, नियम, निर्देशिका निर्माण गर्न नसक्दा उपभोक्ता संरक्षण ऐन, २०७५ ले व्यवस्था गरेबमोजिम बजारको तह अत्यावश्यक वस्तुको सूची सार्वजनिक गर्न सकेको छैन । आवश्यक स्रोत, साधन, जनशक्ति र तीन तहको सरकारबीच आवश्यक समन्वय गर्न विभागलाई पूर्ण अधिकार नहुँदा उपत्यका र बाहिरका हजाराैँ व्यवसायप्रति प्रभावकारी नियमन हुन सकेको छैन । यसैको कमजोरी बुझेर विभिन्न समयमा समस्या उत्पन्न भएका छन् ।

विभिन्न बहाना बनाई बजारमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि भएको छ । दाल, चामल, तेल, दूधजन्य पदार्थ फलफूललगायतको मूल्य छुनै नसकिने बनेको छ । साथै, चीनले अघोषित नाकाबन्दी गर्यो भनेर चीनबाहेकका देशबाट आएका लत्ताकपडाको मूल्य बढाइएको छ । अनुगमन र उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयन गर्ने निकायलाई पूर्ण जनशक्ति, आवश्यक स्रोत र साधनको अभाव छ । आपूर्ति व्यवस्था नियमित गर्न, मागअनुसारका आपूर्ति गर्न सरकारको एकीकृत आपूर्ति नीति नहुँदा स्पष्ट उपभोक्ता नीति नहुँदा मूल्य निर्धारण गर्ने संयन्त्र नहुँदा, बजार हस्तक्षेप गर्ने निकाय कमजोर हुँदा र समयमै सरकारको तयारी नहुँदा मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने अवस्था सिर्जना भएको छ । 

अस्वस्थ व्यावसायिक गतिविधिबाट पाठ सिकेर सुधारका लागि अग्रसर हुनुको सट्टा सरकार मूकदर्शक बन्दा उपभोक्ता मारमा

चिनी, मैदाजस्ता अत्यावश्यक वस्तुको बजारमा चरम अभाव हुने र कालाबजारीले कृत्रिम मूल्यवृद्धिलाई सहयोग पुग्छ । चार्डपर्वमा क्रेता पनि हतारमा हुने र यही वेला गुणस्तरहीन वस्तु, लेभल नमिलेका, केरमेर गरिएका शंकास्पद वस्तु बेचबिखन हुँदा अनुगमन र आपूर्ति व्यवस्था चुस्त राख्न मन्त्रालय सबैभन्दा चनाखो हुनुपर्छ । 

यस्तै, सबै क्षेत्रबाट कानुन कार्यान्वयन गर्ने निकाय ७७ वटै जिल्ला प्रशासन कार्यालय, सात सय ५३ वटै स्थानीय सरकार आपसी समन्वय र सहकार्यमा बजारमा हुने अवाञ्छित कार्य रोक्न अखाद्य वस्तुको बेचबिखन रोक्ने संकल्प लिनु जरुरी छ । अहिलेसम्म स्थानीय सरकार र प्रदेश सरकारले चुस्त बजारका लागि कुनै योजना निर्माण गरेका छैनन् । बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री हुन मुख्य यी तीनवटै निकाय सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ ।

जिम्मेवार छैन सरकार : बजारलाई विधिको बाटोमा हिँडाउने, माग आपूर्तिमा एकरूपता कायम गर्ने, निकायगत समन्वय गर्ने, विधिको शासन र कानुनी राज्यको अनुभूति गराउने सरकार सबैभन्दा बढी आमउपभोक्ताप्रति जिम्मेवार बन्नुपर्ने हो, तर बनिरहेको छैन । 

आपूर्तिको माग र उत्पादनको तथ्यांक नहुनु, बजार हस्तक्षेप गर्ने सार्वजनिक सरकारी संस्थान कमजोर हुनु, समयमै साल्ट ट्रेडिङलाई चिनी तथा मल ल्याउन आवश्यक पहल नगर्नु सानो उदाहरण हुन सक्छ । भोलि हुन सक्ने समस्यालाई हल गर्न आफू र मातहत निकायको काम कारबाही पारदर्शी र नमुनायोग्य बनाउनुपर्ने, तर आफैँ अपारदर्शी काम गर्ने उपभोक्ता हित, स्वच्छ बजार कायम गर्न भएका ऐन–कानुनको सार्थक र प्रभावकारी कार्यान्यन, ऐन कानुनको समयसापेक्ष परिमार्जन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित उपभोक्तावादको स्पष्ट सिद्धान्त तथा उपभोक्ता नीति जारी गरी ऐनबमोजिमका कमिटीलाई प्रभावकारी परिचालन गर्न सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ । 

सचेत र जागरुक उपभोक्ता संविधानप्रदत्त अधिकारको भरपूर उपभोग गर्न आफूले प्राप्त गर्ने वस्तु र सेवाको नाम, मूल्य, उत्पादन वा आयतकर्ताको स्पष्ट ठेगाना हेर्ने, कुनै प्रकारको गुनासो भए सम्बन्धित निकायमा उजुरी दिने गर्नुपर्छ । यस्तै, आवश्यकताभन्दा बढी मात्रामा सामान किनेर स्टक नगर्ने, हल्लाको पछि नलाग्ने, उत्पादन मिति र उपभोग्य मिति हेर्ने, कुनै प्रकारको क्षति भएमा क्षतिपूर्ति माग गर्ने, देखावटी र देखासिकीमा अनावश्यक वस्तुको उपयोग र सञ्चय नगरी सचेत बनेमा पनि बजारमा हुने विभेदको अत्य हुन्छ । ऐन कानुनको कार्यान्वयन हुन्छ । बढीभन्दा बढी उजुरी र खबरदारी गर्नाले सरकारलाई अझ बढी जिम्मेवार बनाउँछ ।

सरकारले ०६५ देखि दसैँ, तिहारका वेला सीमित संख्यामा सुपथ मूल्य पसल सञ्चालन गर्ने र केही वस्तुमा थोरै छुट दिएर बजारमूल्य नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । तर, यस्तो प्रयासले कुनै पनि वर्ष सार्थकता पाउन सकेको छैन । किनभने, असंख्य उपभोक्ता र ठूलो संख्यामा हुने आर्थिक क्रियाकलापका बीचमा दुई–तीनवटा संस्थान परिचालन गरी काठमाडौं उपत्यकामा ८–१० वटा पसल र उपत्यकाबाहिर संस्थानको कार्यालय रहेको स्थानमा पसल राखेर छुट सुविधासहित वस्तु तथा सेवाको बिक्री केन्द्र राख्ने गरिएको छ । यसबाट चाडपर्वमा हुने कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणको लक्षित उपलब्धि हासिल गर्न निकै कठिनाइ हुने गरेको छ ।

इमानदार व्यवसायी :  स्वच्छ बजारको महत्वपूर्ण पक्ष व्यवसायी हो । उपभोक्ता र व्यवसायी एक सिक्काका दुई पाटा हुन् । एउटा वस्तुको विक्रेता, उत्पादक वा आपूर्तिकर्ता भए पनि हजारौँ वस्तुको उपभोक्ता हुँ भन्ने भावना सबै व्यवसायीमा हुने हो भने केही हदसम्म बजारको समस्या हल हुन्छ । बजारमा कुनै वस्तुको अभाव सिर्जना गर्नु दण्डनीय अपराध हो । खाद्य पदार्थमा मिसावट, भ्रमपूर्ण विज्ञापन र उपभोक्ताको अनुहार हेरेर मूल्य निर्धारण गर्नु, अप्ठेरो वेला असहयोग गर्नु गरैकानुनी कार्य हुन् । त्यसैले इमानदारीपूर्वक व्यापार–व्यवसाय गर्ने काम गरिएमा बजारमा हुने उपभोक्ता हितविपरीतका कार्य निरुत्साहित हुन्छन् । सरकारले पनि राम्रो गर्नेलाई सम्मान गर्ने र गल्ती गर्नेलाई दण्डसजाय गर्ने थालनी गर्नुपर्छ ।

विशेषगरी, चाडबाडको अवस्थामा आमउपभोक्तालाई राहत दिन सम्भव भएसम्मका स्थानीय पालिकामा समेत सुपथ मूल्य पसल स्थापना गर्न संघीय सरकारले आवश्यक पहल गर्नुपर्छ । केन्द्रमा दुई–चार स्थानमा देखावटी र कर्मचारी मात्र सञ्चालन गरिएको सहुलियत पसलले आमउपभोक्ताको अधिकार संरक्षण गर्न सक्दैन । दुःख–सुख बिर्सेर चाडबाड मनाउने सम्पूर्ण व्यवसायी, व्यावसायिक संघ संगठनमार्फत सरकारले स्वघोषणा मूल्य, गुणस्तर र आपूर्तिमा आश्वस्त पार्न जानकारी गराई विश्वास दिलाउन आवश्यक छ । 

सुझावित समाचार