किरणको कप्तानीमा अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

मंगलबारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन्। 

सोमबार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो। 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ। खेल दशरथ रंगशालामा मंगलबार साढे ५ बजे हुनेछ। 

सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित थिए। पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए। कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे। 

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए। प्रशिक्षका हुमागाई‌ले नेपाली टोलीको तयारी राम्रो भएको बताए। 

यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए। तर दुवै खेलाडी बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि टोलीमा समावेश छैनन्। 

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी  २४ पटक प्रतिष्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५  खेल बराबरीमा सकिएको छ।
 

सुझावित समाचार