अति दुर्लभ मानियो जंगली याकको यो तस्बिर वाइल्डलाइफ फोटोग्राफर चुङबा शेर्पाले खिचेका हुन्। विश्वव्यापी रुपमा लोपोन्मुख मानिने यो जंगली याकको तस्बिर शेर्पाअघि सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जसलाई पछि पाँच रुपैयाँको नोटमा अंकित गरिएको थियो।
चीन, भारतसहित नेपालको उत्तरी हुम्लाको लिमि उपत्यकमा मात्रै भेटिने अति दुर्लभ जंगली याक (वनचौरी) पछिल्ला केही वर्षयता संकटमा पर्दै गएको छ। नाम्खा गाउँपालिका–६ स्थित निङ्गखोलामा घरेलुचौरीसँगै देखिन्थ्यो जंगली याक। वर्षेनी भेटिँदै आएको जंगली याकको गत वर्षको साउनमा भने अवशेष मात्रै भेटियो। अति दुर्लभ मानिने उक्त जंगली याक शिकारी गरी मारेर खाएको फेला परेको नाम्खा गाउँपालिका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। उनले भने, ‘नाम्खाको निङ्गखोलामा भेटिन्थ्यो। धेरै दिनपछि खोजीकार्य गर्दा ९ वटा गोलीले प्वालैप्वाल पारेको छाला र खुट्टा मात्रै भेटियो।’
लिमिस्थित सुनखानीबाट घटनास्थलमा पुगेर प्रहरीले फोटो खिचेर ल्याएपनि वर्षदिन बितिसक्दासमेत यो घटना बाहिर नल्याएको पाइएको छ। वडाध्यक्ष तामाङका अनुसार सदरमुकाम सिमकोटदेखि नाम्खा–६ को लिमिमा भ्रमण पुगेकी डिभिजन वन कार्यालय हुम्लाकी प्रमुख रेणु न्यौपानेलाई जंगली याक लामो समयदेखि नभेटिएको र खोजीकार्य गर्न आग्रह गरेपनि कुनै चासो नदेखाएको वडाध्यक्ष तामाङको भनाइ छ।
जंगली याकको छाला र खुट्टासँगै चक्कुसमेत फेला परेको थियो। तर, सुनखानीबाट खटिएको प्रहरीले समेत कुनै चासो नदिएको स्थानीयहरु बताउँछन्। नेपालमा लिमि उपत्यकामा मात्रै भेटिने जंगली याक संकटमा रहेपनि सरोकारवाला निकायले अहिलेसम्म कुनै चासो दिएको छैन।
लिमिका यी ठाउँमा भेटिन्छन् जंगली याक
अल्पाइन टुन्ड्रामा बस्ने यो याक घाँसे मैदान, चिसो मरुभूमि तथा जाडोमा तल्लो उपत्यका झर्ने अध्ययनहरुले देखाएको छ। नेपाल र तिब्बतको सीमा क्षेत्र लिमी उपत्यकामा जंगली याक (वनचौरी) भेटिन्छ। जुन क्षेत्र निकै विकट मानिन्छ।
वडाध्यक्ष तामाङका अनुसार लिमी क्षेत्रमा चारवटा वनचौरी थिए। शिकारीले एउटा मारिदिएपछि अब तीनवटा मात्र छ। उनका अनुसार निङखोला, ग्याउखोला, च्याप्कालुङ, मरकुङ्गखोलालगायतका स्थानमा यी वनचौरी भेटिन्छन्।