शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममार्फत मन्त्रालयले नीति तथा कानुनी सुधार र योजना निर्माण, पूर्वाधार विकास, शिक्षकको पेसागत विकासलगायतसम्बन्धी गरिएको मुख्य कार्य विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयद्वारा सार्वजिनक विवरणअनुसार पाठ्यक्रम, पाठ्यपुस्तक तथा सिकाइ सामग्री, सिकाइ सूचना प्रविधि र पाठ्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, अनौपचारिक शिक्षा तथा साक्षरता, उच्च शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी महत्वपूर्ण कार्य आव ०७८/७९ मा सम्पन्न भएका छन्।
मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप, एकीकृत स्वास्थ्य शिक्षालगायतसम्बन्धी विधेयक निर्माण गरेको छ। सो अवधिमा शिक्षा सेवा आयोग नियमावलीको ११औँ संशोधन पनि भएको छ। त्यस्तै, ०७९/८० देखि लागू हुने गरी दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत गरिएको छ।
सोही अवधिमा देशभरका सामुदायिक विद्यालयमा पाँच हजार ९८० कक्षाकोठा निर्माण सम्पन्न भएको छ। २ हजार १८१ विद्यालयमा डिजिटल पुस्तकालय र आइटी ल्याब निर्माण, एक हजार १२ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण, भूकम्पबाट क्षति भएका ६६१ विद्यालय निर्माण, शिक्षक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिएकोलगायत कार्य गरिएको छ। सोही अवधिमा ३ हजार ३०९ शिक्षकको बढुवा, २१ हजार शिक्षकलाई पेसागत तालिम, कक्षा १ देखि १२ सम्मको एक हजार २८ पाठ्यसामग्रीको मूल्यांकन र ८११ वटा पाठ्यक्रम पनि स्वीकृति भएको मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष ०७८/७९ मा मन्त्रालयले ७वटै प्रदेशमा डिजिटल लर्निङ सेन्टर स्थापना गरेको छ। १७ हजार पाँच सयजनालाई प्राविधिक तालिम प्रदान गरिएको छ। हालसम्म ६१ वटा जिल्ला साक्षर घोषणा भएका छन्। यसमध्ये गण्डकी र बागमती प्रदेश पूर्ण साक्षर प्रदेश घोषणा भएको छ। सो अवधिमा १ लाख १३ हजार दुई सयजनालाई वैदेशिक उच्च शिक्षा अध्ययनको लागि मन्त्रालयले अनुमति दिएको छ। मन्त्रालयले हाल ७७ वटै जिल्लाका कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवाखाजा कार्यक्रम लागू गरिसकेको छ।
‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘शिक्षाको सोचपत्र २०७९’ पनि सार्वजनिक गरे। उक्त सोचपत्रका दीर्घकालीन दृष्टिकोण तथा रणनीतिकहरू तय गरिएको छ। प्रारम्भिक बाल विकास कार्यक्रम, विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, जीवनपर्यन्त शिक्षालगायत रणनीतिहरू सोचपत्रमा समावेश गरिएको छ।