मोबाइल सन्देशले जोगायो २८ परिवारकाे ज्यान

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण
मोबाइल सन्देशले जोगायो २८ परिवारकाे ज्यान

फाइल तस्बिर

कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावत भदौ ३१ गते राति ११ बजेर ३० मिनेट जाँदा माेबाइलमा आएको सन्देश बिर्सन सक्दैनन्। 

शिविरमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो,  ‘पछिल्लो तीन घन्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतराआसपास पुगिसकेकाले सतर्कता अपनाऔँ।’

रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो। त्यही सन्देशले शिविरका सबैजनाको ज्यान जोगायो। 

रावतले मोबाइलमा आएको सन्देश पढ्नासाथ सँगै सुतेकी श्रीमतीलाई उठाए। ‘सन्देशमा भनेझैँ ठूलो वर्षा भइरहेको थियो,’ रावतले भने, ‘बाहिर हेरेँ, वनहरा नदीको पानी झोपडीभित्रै आइपुगेको थियो, हतारमा श्रीमतीसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारेँ, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाएँ, सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो।’ 

नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एकसरो लुगामा सबै भागेर ज्यान जोगाएको उनले जानकारी दिए। 

‘शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो,’ गौरे दमाईंले भने, ‘सुतेका मात्रै थियौँ, लत्ताकपडा केही बोक्नै पाएनौँ।’

उनले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाए। ‘पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन, जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो,’ उनले भने, ‘वनको माथितर्फ लाग्यौँ, त्यतिवेला शिविरका अरू पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ।’ 

उनी अहिले पनि शिविरमा फर्केर जान डराउने गर्छन् । वर्षा भएपछि अझै पहिलाजस्तै बाढी आउने डर उनको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखीमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताइन्। 

‘डोरीको खटियामा सुतेका थियौँ,’ उनले भनिन्, ‘झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै लागि हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन।’

‘शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईवस्तुलाई फुकाएर जंगलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो,’ स्थानीय दलबहादुर बोहराले भने, ‘झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जंगलै जंगल पानीमै भागेर ज्यान जोगायौँ।’ 
    
शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उनले बताए। सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उनले बताए।  

विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ। बस्न सक्ने अवस्था छैन। विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका– ११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ।

शिविरमा २८ परिवारको बसोवास छ। शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य संघले राहत सामग्री वितरण गरेको छ। शिविरमा बसोवास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोवासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन्।
 
 

सुझावित समाचार