मुगल बादशाह औरंगजेबको कठोरता र अनुदारता टाढा–टाढासम्म कुख्यात थियो । कुनै समस्या लिएर बादशाहकोमा जानुपर्यो भने सबैको पसिना छुट्थ्यो । समस्या परेपछि पनि सबै बादशाहकोमा जान डराउँथे । सबैलाई लाग्थ्यो, कहिले बादशाह औरंगजेब रिसाउने हुन् र आफ्नै टाउको छिनाइदिने हुन् । यही पिरलोले गर्दा मानिसहरू उनीसामु पर्न सधैँ डराउँथे ।
एक दिन जामे मस्जिदको बाहिरी भागमा भीषण आगो लाग्यो । मस्जिदमा आगो लागेपछि सबैको सातो गयो । सबैले दौडादौड गरेर जसोतसो आगो नियन्त्रणमा ल्याए । आगो नियन्त्रणमा आइसकेपछि बादशाह औरंगजेबसम्म आगलागीबारे खबर पुग्यो ।
यो खबर उनका विश्वासपात्र एकजना मन्त्रीले उनीसमक्ष पुर्याएका थिए । मस्जिदमा आगलागीको खबर सुनेपछि औरंगजेबले गम्भीर हुँदै सोधे, ‘मस्जिदबाहिर रोपिएका सबै रुख त हराभरा नै छन् हैन ?’ बादशाहबाट यति गम्भीर प्रश्न सोधिने अपेक्षा नगरेका ती मन्त्री र त्यहाँ उपस्थित दरबारियाहरू छक्क परे । उनको प्रश्न सुन्दा उनीहरूलाई निकै हैरानी भयो । आखिरमा साहस जुटाएर ती मन्त्रीले बादशाहलाई सोधे, ‘जहाँपनाह, हजुरले खालि ती रुखबारे प्रश्न गर्नुभयो, तर, मस्जिदबारे भने केही सोध्नुभएन नि ?’
उनको प्रश्न सुनेपछि बादशाह औरंगजेब थप गम्भीर भए र बोले, ‘साथीहरू हो, यी रुखहरू तिमी–हामी सबैको जिन्दगीका आधार हुन् । आगलागीबाट मस्जिदमा भएको नोक्सानी त हाम्रा कालिगढले दुई–चार दिनमै पूरा गरिहाल्छन् । तर, जलेको कुनै रुख कसरी दुई–चार दिनमै हरिलोभरिलो हुन सक्छ ? त्यसैले मलाई मस्जिदका भित्ताको भन्दा ती रुखको चिन्ता बढी भएको हो ।’ उनको जवाफ सुनेपछि ती मन्त्री र अन्य दरबारियाको शिर उनीसामु थप श्रद्धाले झुक्यो ।