कोरोना बिमाको साढे १० अर्ब बाँकीमध्ये एक अर्ब भुक्तानी गर्दै सरकार

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल सरकारले कोरोना बिमा दाबी रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बिमा दाबी भुक्तानी गर्न बाँकी रकमका लागि बिमा समितिमार्फत रकम वितरण गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केही दिनभित्र बजेट समितिमार्फत भुक्तानी प्रक्रिया अगाडि बढ्नेछ । बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन । सो पोलिसीमार्फत १० अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । सो रकम सरकारको दायित्वअन्तर्गत पर्छ । सरकारले आफ्नो दायित्व रकम भुक्तानी गरेपछि मात्रै बिमितलाई दाबी रकम वितरण गर्न सकिने भन्दै कम्पनीहरूले विगत एक वर्षदेखि दाबी भुक्तानी गरेका छैनन् ।  

कोरोना बिमाबापत निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल दाबीको ७० प्रतिशत पोलिसीको अझै भुक्तानी भएको छैन । निर्जीवन बिमा कम्पनीहरूमा एक लाख ६२ हजार तीन सय ४६ वटा कोरोना बिमा पोलिसीको दाबी परेको थियो । जसमध्ये कम्पनीहरूले हालसम्म ५० हजार चार सय ४७ वटा पोलिसीको मात्रै दाबी भुक्तानी गरेका छन् । एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको अझै भुक्तानी भएको छैन । 

कम्पनीहरूमा १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँबराबरको दाबी परेको थियो । जसमध्ये हालसम्म चार अर्ब ८३ लाख ३५ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । नेपाल सरकारबाट दाबी भुक्तान रकम प्राप्त हुने भनी कम्पनीहरूले एक अर्ब ३९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

समितिको तथ्यांकअनुसार राष्ट्रिय बिमा संस्थानले सबैभन्दा धेरै ५० हजार एक सय २५ वटा बिमा पोलिसी जारी गरेको थियो । जसमध्ये कम्पनीले हालसम्म १० हजार एक सय ८७ वटा पोलिसीको दाबी भुक्तानी गरिसकेको छ । शिखर इन्स्योरेन्सले २० हजार २९, सगरमाथाले १० हजार दुई सय ८० र सिद्धार्थ इन्स्योरेन्सले नौ हजार ३३ वटा बिमा पोलिसी जारी गरेका थिए । 

भुक्तानी गर्न निर्देशन आएको छ : दिलीप गौतम उपसचिव, अर्थ मन्त्रालय
मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा प्राप्त भएको छ । सोही निर्णयबमोजिम मन्त्रालयले बजेट महाशाखालाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार रकम वितरणको मोडालिटीको जिम्मा बिमा समितिलाई नै दिइएको छ ।

भुक्तानीमा कठिनाइ हुने 
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले रकम निकासा गरे पनि भुक्तानीमा कठिनाइ हुने बताएका छन् । ‘सरकारले निकासा गरेको रकम थोरै हो । अब बाँकी रकम कसरी संकलन गर्ने अर्को चुनौती छ,’ उनले भने, ‘तथापि अर्थ मन्त्रालयले मौखिम रूपमा समितिलाई मन्त्रिपरिषद्को निर्णयले रकम निकासा गर्ने निर्णय गरेको जानकारी मात्रै गराएको छ ।’ तर, लिखित रूपमा पत्र भने नआएको अध्यक्ष सिलवालले बताए । अर्थ मन्त्रालयका उपसचिव दिलीप गौतमका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा प्राप्त भएको छ । सोही निर्णयबमोजिम मन्त्रालयले बजेट महाशाखालाई निर्देशन दिएको छ । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार रकम वितरणको मोडालिटीको बिमा समितिलाई नै दिइएको छ,’ उनले भने ।

कोरोना बिमा मापदण्डअनुसार बिमा कम्पनीहरूले एक अर्ब रुपैयाँसम्मको दायित्व मात्रै व्यहोर्नेछन् । सोभन्दा बढी रकमको दायित्व प¥यो भने एक अर्ब रुपैयाँसम्म नेपाल पुनर्बिमा कम्पनीले भुक्तानी गर्नेछ । दुई अर्ब रुपैयाँभन्दा पनि बढी दाबी परेमा ५० करोड रुपैयाँ बिमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी गरिनेछ । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपैयाँसम्म बिमा समितिले भुक्तानी गर्ने सहमति भएको थियो । त्यस्तै, तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने निर्देशिका व्यवस्था गरिएको छ । 

सुझावित समाचार