मेरो आँखाको ख्याल राख है

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

एक युवती जन्मजात दृष्टिविहीन थिइन् । संसार देख्न नपाएकोमा उनी निकै दुःखी थिइन् । रहँदाबस्दा उनको एक मायालु युवासित प्रेम सम्बन्ध गाँसियो । ती युवा उनलाई असाध्यै माया गर्थे । उनी पनि ती युवालाई निकै मन पराउँथिन् । उनी बारम्बार भन्थिन्, संसार देख्न पाएँ भने तिमीसित बिहे गर्छु । 

केही समयपछि कसैले उनलाई आफ्नो एउटा आँखा दान गर्यो । शल्यक्रिया सफल भयो । केही दिनमै उनी एउटा आँखाले संसार देख्न सफल भइन् । उनको खुसीको सीमा रहेन । उनले अब आफ्ना मायालु प्रेमी, आफन्त र साथीभाइ सबैलाई देख्न सक्छिन् । अब उनी आफ्ना प्रेमीसित विवाह गर्न सक्छिन् । अस्पतालबाट घर फर्किएको दोस्रो दिन उनले पार्कमा आफ्ना प्रेमीलाई भेटिन् । कुराकानीका क्रममा उनले थाहा पाइन्, उनका प्रेमी पनि एउटा मात्र आँखाले देख्न सक्छन् । यसैबीच उनका प्रेमीले सोधे– अब तिमी संसार देख्न सक्ने भयौ । के तिमी मसँग बिहे गछ्र्यौ ?

आफूजस्तै आफ्ना प्रेमी पनि एउटा आँखाले मात्र देख्न सक्ने थाहा पाएपछि उनलाई ती युवासित बाँकी जीवन बिताउन कठिन हुने महसुस भयो । उनले भनिन्– माफ गर प्रिय, म तिमीसित बिहे गरेर जीवनभर दुःखमा बाँच्न सक्दिनँ । किनकि, हामी दुवै एउटा आँखाले मात्र देख्न सक्छौँ । यस्तोमा हामीलाई थप समस्या हुने निश्चित छ । त्यसैले, म तिमीसित बिहे गर्न असमर्थ छु । मलाई माफ गरिदेऊ । 

उनको यस्तो कठोर वचन सुनेर उनका प्रेमी निकै दुःखी भए । उनले कुनै प्रतिक्रिया नजनाई एउटा कागजको टुक्रामा केही लेखे र आफू गएपछि पढ्न अनुरोध गर्दै प्रेमिकाको हातमा राखिदिए । प्रेमी आँखाबाट ओझेल परेपछि प्रेमिकाले कागज खोलेर पढिन् । जसमा लेखिएको थियो– ‘मेरो आँखाको ख्याल राख है, प्रिय !’

सुझावित समाचार