अल्मुताइरीले नेपाली टोली छाडे

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण
अल्मुताइरीले नेपाली टोली छाडे

फाइल तस्बिर

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीको सहयात्रा समाप्त भएको घोषणा गरेका छन् । अल्मुताइरीले सामाजिक सञ्जालबाट नेपाली टोलीसँग सहयात्रा सकिएको सार्वजनिक गरेका हुन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई समेत टोली छाडेको पत्र पठाएका छन् । अल्मुताइरीले आफूले पाँच सय २५ दिनपछि टोली छाडेको बताएका छन् । ‘५ सय २५ दिन नेपाली फुटबलमा काम गरेँ । यससँगै राष्ट्रिय टोलीसँगको कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुसी, माया, दुःख र पीडामा मलाई साथ दिने सम्पूर्णमा धन्यवाद, ‘वान टिम, जय नेपाल’, अलमुताइरीले लेखेका छन् । 

असार तेस्रो साता नेपाली टोलीसँगै कुवेत पुगेका अल्मुताइरीले आफू बिदामा बसेको जनाएका थिए । नेपाली टोली साउन पहिलो साता नै नेपाल फर्किए पनि अल्मुताइरी कुवेतमै बसे । एन्फाले अल्मुताइरी बिदामा रहेको जनाउँदै प्रदीप हुमागाईंलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षक घोषणा गर्यो । 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले शनिबार कतार फुटबल एसोसिएसनका अध्यक्ष हमाद विन खलिफालाई भेट गरेका थिए । यसको भोलिपल्टै (आइतबार) अल्मुताइरीले टोली छोड्ने घोषणा गरेका हुन् । पछिल्लो समय एन्फाले कतार फुटबल संघसँग अब्दुल्लाहको विकल्प चाहेको थियो । अल्मुताइरीलाई तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले कतार फुटबलको अनुदानमा ०७७ साल चैत तेस्रो साता नेपाल झिकाएको थियो ।

विवादमुक्त भएन कार्यकाल
प्रशिक्षणको जिम्मेवारी सम्हालेपछि कुवेती नागरिक अल्मुताइरीले नेपाल आएको दुई महिनापछि इराकविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेलाएका थिए । नेपालमा आएको चार महिनाभित्र उनले समर्थकमाझ एक प्रकारको भावनात्मक सम्बन्ध गाँसे । सामाजिक सञ्जाल पूरै अल्मुताइरीमय बनेको थियो । ०७८ साउन दोस्रो साता तत्कालीन एन्फा वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफूलाई काम गर्ने वातावरण नदिएको भन्दै सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरे । उनले एन्फासमक्ष राजीनामापत्र बुझाएनन् । मिडियाले आफूविरुद्ध लेख्न थालेको भन्दै उनले खेलाडीलाई आफ्नो पक्षमा बोल्न र फेसबुकमा स्टाटस राख्न लगाए । ०७८ भदौमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा शीर्ष दुईमा रहँदै नेपाल पहिलोपटक फाइनलमा प्रवेश गर्यो । 

नेपाली राष्ट्रिय टोलीबाट १६ खेलाडीलाई डेब्यु गराएका अल्मुताइरीको प्रशिक्षण समयमा नेपालले आधिकारिक १७ खेलमा पाँच जित, दश हार र दुई बराबरी नजिता व्यहोरेको थियो 
 

माल्दिभ्सबाटै राजीनामा दिने घोषणा गरे । तर, उनले राजीनामा दिएनन् । उनले एन्फासँग थप एक वर्षको सम्झौता नवीकरण गरे । तत्कालीन अध्यक्ष शेर्पानिकट रहँदै उनले काम गरे । उनको समयमा खेलाडीले दबाबको महसुस गरेका थिए । खेलाडीले आधारभूत सुविधा माग गर्दा अल्मुताइरीले गाली गरेको भन्दै नियमित टोलीका १० खेलाडीले गत १५ वैशाखमा होटेल छाडे । तत्कालीन राष्ट्रिय टोलीका कप्तान र गोलरक्षक किरणकुमार लिम्बुले अलमुताइरीलाई ‘बुबा’कै उपनाम दिएका थिए । अलमुताइरीसँग सम्बन्ध बिग्रँदा किरणले टोलीमा स्थान बनाउन सकेनन् । भिक्टोर राणाको संयोजकत्वमा खेलाडी–प्रशिक्षक विवाद छानबिन समिति बनेको थियो । जेठ पहिलो साता समितिले प्रशिक्षक अल्मुताइरीले विकल्प खोेज्न २८ पृष्ठको प्रतिवेदन एन्फामा बुझाएको थियो । प्रतिवेदनलाई आधार बनाउँदै एन्फामा निर्वाचित भएपछि नेम्बाङ नेतृत्वले अल्मुताइरीलाई बर्खास्त गर्न चाहन्थ्यो । अल्मुताइरीले आफ्नो सम्झौताविपरीत एन्फाले बर्खास्त गरे एएफसी र फिफामा जाने चेतावनी दिए । अध्यक्ष नेम्बाङ र कतार फुटबलका अध्यक्ष खलिफाबीच भेटपछि अल्मुताइरीले आफैँ नेपाल छाड्ने घोषणा गरेका छन् । 

सधैँ चर्चामा रहने चाहना
अलमुताइरी मैदानभित्र र बाहिर सधैँ चर्चाको केन्द्रबिन्दुमा आफूलाई राख्थे । कहीले गोल गरेपछिको सेलेब्रेसन भने कहिले म्याच अफिसियलसँग झगडा गर्दै अल्मुताइरीलाई चर्चाको शिखरमा राखे । उनले नेपालमा रहँदा आफ्नो प्रमुख शत्रु नै सञ्चारमाध्यमलाई बनाए । पछिल्लो समय पंकज नेतृत्वमा रहेको एन्फा र अल्मुताइरीबीचको सम्बन्ध राम्रो भएन । मैदानबाहिर खेलाडीलाई अनुशासनमा कडाइ गर्न थाले । यतिसम्म कि मिडियासँग खेलाडी बोल्दा आफू पछाडि बसेर के बोल्छन्, खुबै ध्यानमा दिन्थे । क्याम्पबाहिर रहँदासमेत खेलाडीलाई बढी अनुशासनमा राख्दा खेलाडी नै अल्मुताइरीको विरोधमा उत्रन थालेका थिए । यद्यपि, सामाजिक सञ्जालमा ‘कमेन्ट’ ‘म्यासेज’ र ‘लाइभ’मा रमाइलो गर्न पुग्ने अल्मुताइरी समर्थकमाझ सधैँ प्रिय रहे । 

१७ आधिकारिक खेल 
नेपाल आएपछि अल्मुताइरीको पहिलो आधिकारिक खेल इराकविरुद्ध थियो । अन्तिम खेल भने कुवेतमै इन्डोनेसियाविरुद्ध थियो । संयोग, दुवै खेलमा नेपाल जितविहीन रह्यो । अल्मुताइरी आएपछि नेपालले १७ आधिकारिक (फिफा मान्यता पाएको) खेल खेलेको छ । जसमा ५ खेलमा जित निकाल्दा २ खेल बराबरीमा सकिएको छ । अल्मुताइरीको प्रशिक्षणमा नेपाल १० खेलमा पराजित भएको छ । यस्तै, आधिकारिक खेलमा १४ गोल गर्दा ३६ गोल बेहोरेको थियो । अल्मुताइरी नेपाल रहँदा समग्रमा २२ खेल खेलाए । अल्मुताइरीले पहिलो खेल ०७८ साल जेठ १५ मा इराक र अन्तिम खेल गत जेठ ३१ गते इन्डोनेसियाविरुद्ध रह्यो । जुन खेलमा नेपाल ७–० ले पराजित भएको थियो । 

१६ खेलाडीको डेब्यु 
अल्मुताइरीले आफ्नो प्रशिक्षणकालमा १६ खेलाडीलाई डेब्यु गराए । पहिलो खेलमै इराकविरुद्ध दुई खेलाडीलाई डेब्यु दिए । इराकविरुद्ध मैत्रीपूर्ण खेलमा मनीष डाँगी र गौतम श्रेष्ठले डेब्यु पाए । आफ्नो कार्यकालमा अलमुताइरीले यी दुवै खेलाडीलाई खुबै मन पराएका थिए । यसपछि उनले फिफा विश्वकप छनोटमा आयुष घलान, कमल थापा र सुरजज्यु ठकुरीलाई इन्जुरी समयमा मौका दिए । भारतविरुद्ध घरेलु मैदानमा नितिन थापा, राजन गुरुङ र गोलरक्षक विशाल श्रेष्ठलाई डेब्यु गराए । ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप गुरुङ, आकाश बुढामगर, नवीन गुरुङलाई अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग मौका दिए । प्रशान्त अवस्थीले थाइल्यान्डमा डेब्यु पाए । गोलरक्षक दीप कार्की, विकास तामाङ, नीरकुमार राई र शिव गुरुङले अल्मुताइरीको कार्यकालमा अन्तर्राष्ट्रिय फुटबलको स्वाद पाए । अन्तिम खेलमा नीरकुमार र शिवले डेब्यु पाएका थिए । 

उहाँले नेतृत्वलाई सहयोग गर्नुभएको हो : सुरेश शाह, प्रवक्ता, एन्फा
हामीलाई उहाँको मेल प्राप्त भएको छ । हामीबीचमा भएको सम्झौता छाडेको भन्नुभएको छ । उहाँ अस्वस्थ पनि हुनुहुन्थो । एकपक्षीय रुपमा काम गर्न असफल छु जस्तो कुरा गर्नुभयो । उहाँले यो नेतृत्वलाई सहयोग गर्न खोजेको जस्तो बुझेँ । बिदामा हुनुहुन्थ्यो, असहज महसुस गर्नुभयो । पछिल्लो समय विवाद धेरै भएकाले अलग रहने निर्णय लिनुभएको होला । अब हामीलाई प्रो लाइसेन्स प्रशिक्षक चाहिन्छ । हामी नयाँ प्रक्रियाका लागि जान्छौँ । 

सुझावित समाचार