नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरलाई सम्पत्ति कर किन तिरेको छैन ?
यस विषयमा प्राधिकरण र महानगरपालिका सँगै बसेर कुराकानी गर्न आवश्यक छ । पक्कै पनि हामीले महानगरलाई कर तिर्न बाँकी छ र त्यो तिर्नु पनि पर्छ । यसमा हामी प्रस्ट छौँ । तर, महानगरले पनि हाम्रो सेवा उपभोग गरेबापत हामीलाई शुल्क तिर्नुपर्छ भन्ने उहाँहरूले पनि सम्झिनुपर्छ । सडकबत्ती प्रयोग गरेबापतको शुल्क महानगरले लामो समयदेखि भुक्तानी गरेको छैन । यसमा हामीबीच समन्वय नभएको हो ।
एउटा सरकारी संस्थाले एक तहको सरकारलाई अटेर गर्न मिल्छ र ?
हामीले अटेर गरेका छैनौँ । उहाँहरूले १५ करोडबराबरको सम्पत्ति कर तिर्न भनेर हामीलाई चिठी पठाउनुभएको छ । तर, हामीले पनि उहाँहरूबाट योभन्दा धेरै ठूलो परिमाणको रकम लिन बाँकी नै छ । यथार्थमा हामीबीच समन्वय नभएर मात्र यस्तो समस्या देखिएको हो ।
काठमाडौं महानगरले प्राधिकरणलाई चाहिँ कति शुल्क तिर्न बाँकी छ ?
महानगरले सडकबत्ती प्रयोग गरेबापतको झन्डै दुई अर्ब रकम बक्यौता छ । प्राधिकरणलाई महानगरले तिर्न बाँकी रकम २०७१ देखि नै तिरेको छैन । यसबारे हामीले पनि महानगरलाई पटक–पटक ताकेता गरिरहेका छौँ । उहाँहरूले यस विषयमा प्रस्ट जवाफ दिनुभएको छैन । दुवै संस्थाका प्रतिनिधि सँगै बसेर संवाद गर्ने हो भने यो ठूलो समस्या हो जस्तो लाग्दैन ।