चौतर्फी आलोचना भएपछि मन्त्रीले थुनाएका गुरुङ साधारण तारेखमा रिहा

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण
चौतर्फी आलोचना भएपछि मन्त्रीले थुनाएका गुरुङ साधारण तारेखमा रिहा

सोमबार साँझ रिहा भएपछि सेक्युरिटी गार्ड शेरजंग गुरुङ (माला लगाएका)

गुरुङले गल्ती महसुस गरेकाले रिहा गर्न अनुरोध गरियो : मन्त्री

गल्ती नै गरेको छैन, किन महसुस गर्नु : गुरुङ 

चौतर्फी विरोध र आलोचना भएपछि सरकारले पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा पक्राउ गरिएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई साधारण तारेखमा छाडेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई छाडेको हो । 

सरकारी भ्रमणमा क्यानडा जान भिसा प्रोसेसका लागि पत्नी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसहित शुक्रबार ठमेलस्थित भिएफएस ग्लोबलको कार्यालय पुगेका मन्त्री श्रेष्ठको टोली सरासर भित्र पस्न लागेपछि सेक्युरिटी गार्ड गुरुङले आमसेवाग्राहीझैँ लाइनमा बस्न आग्रह गरेका थिए । तर, मन्त्री श्रेष्ठले आफूमाथि दुव्र्यवहार भएको भन्दै उनलाई पक्राउ गर्न लगाएका थिए । 

गुरुङलाई जिल्ला प्रशासनले आइतबार मात्रै थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप गरेको थियो । गृहमन्त्री खाणको निर्देशनपछि प्रशासनले उनलाई सोमबार साँझ पत्नी लक्ष्मी गुरुङको जिम्मा लगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले गुरुङलाई साधारण तारेखमा छाडिएको बताए । 

अभिषेक कार्की, प्रशासकीय अधिकृत, गरुड सेक्युरिटिज 
हाम्रोतर्फबाट कुनै गल्ती नै भएको छैन । त्यसैले हामीले कसैसँग माफी मागेका छैनौँ । तर, दबाब भने नआएको होइन । फोन आएको हो । तर, हामीले त्यसलाई वास्ता नै गरेनौँ ।

‘गुरुङ अभद्र व्यवहार कसुरमा पक्राउ परेका थिए । उनीविरुद्ध पाँच दिनको म्याद पनि थप भएको थियो । हामीले अनुसन्धान सकेर सोमबार नै प्रतिवेदन पेस गर्‍यौँ । सोही प्रतिवेदनपछि उनलाई साधारण तारेखमा छाडिएको छ,’ मैनालीले भने । गुरुङलाई काठमाडौं प्रशासनले आगामी ४ कात्तिकमा हाजिर हुन भनेको छ । 

रिहाइपछि गुरुङले आफू निर्दोष भएको र मन्त्रीसहितको टोलीलाई ‘लाइन बस्न’ आग्रह गरेकै कारण जबर्जस्ती फसाइएको बताए । ‘मेरो कुनै दोष छैन । मैले उहाँहरूलाई लाइनमा बस्नु मात्रै भनेको हुँ । तर, उहाँले मान्नुभएन । उल्टै मसँग झगडा गर्न आउनुभयो । मैले त इमानदारीपूर्वक आफ्नो ड्युटी निभाएको हुँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले त्यसैलाई निहुँ बनाएर मलाई फसाउनुभयो । मेरो र उहाँहरूबीच शुक्रबार छाया सेन्टरमा भएको घटना सिसिटिभी फुटेजमा पनि सुरक्षित होला । त्यो हेर्न सकिन्छ । मलाई ढाँट्न आउँदैन । ढाँटेर के नै जित्नु छ मलाई ।’ 

मन्त्री श्रेष्ठले आफूमाथि गुरुङले दुव्र्यवहार गरेको भन्दै कारबाहीका लागि शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखेका थिए । सोही पत्रपछि उनलाई प्रहरीले त्यही दिन बिहान ११ बजे पक्राउ गरेको थियो । भिसाका लागि बायोमेट्रिक परीक्षण गराउन उनी ठमेलको छाया सेन्टरस्थित ‘भिएफएस ग्लोबल’को कार्यालय पुगेका थिए । त्यही क्रममा सेक्युरिटी गार्ड गुरुङले उनीहरूलाई लाइनमा बस्न आग्रह गर्दा मन्त्री श्रेष्ठ आक्रोशित बनेका थिए । 

घटना सार्वजनिक भएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना सुरु भयो । दबाबमा आएका उनले गरुड सेक्युरिटिज र गुरुङले माफी मागेकाले रिहा गर्न भनेको दाबी गरेका छन् । तर, सेक्युरिटिज कम्पनी र गुरुङले भने आफूहरूले गल्ती नै नगरेकाले माफी माग्नुपर्ने कारण नै नभएको बताए । 

सेक्युरिटिजका प्रमुख प्रशासकीय अधिकृत अभिषेक कार्कीले नयाँ पत्रिकासँग भने, ‘हाम्रोतर्फबाट कुनै गल्ती नै भएको छैन । त्यसैले हामीले कसैसँग माफी मागेका छैनौँ । तर, दबाब भने नआएको होइन । फोन आएको हो । तर, हामीले त्यसलाई वास्ता नै गरेनौँ ।’

गुरुङकी पत्नी लक्ष्मीले सोमबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी छिन् । जसको मंगलबार पेसी तोकिएको छ । गरुड सेक्युरिटिजका प्रमुख प्रशासकीय अधिकृत अभिषेक कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको र पेसी मंगलबारका लागि तोकिएको बताए । 

प्रक्रिया पुर्‍याएर गृह मन्त्रालयले रिहा गर्न भनेका गुरुङविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा मन्त्री श्रेष्ठका अंगरक्षकले अभद्र व्यवहार कसुरअन्तर्गत जाहेरी दिएका थिए । त्यसकै आधारमा उनलाई पक्राउ गरिएको थियो । 

यता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । यसअघि प्रहरी वृत्त दरबारमार्गका एक प्रहरी निरीक्षक विकास तामाङलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यालय प्रमुख एआइजी रवीन्द्र धानुकले घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको र प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको बताए । 

उनले भने, ‘घटना छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन गरिएको छ । वृत्तका एक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट तानिएको छ । समितिले प्रहरीको आन्तरिक विषयमा छानबिन गर्नेछ ।’ 

प्रहरी हिरासतमा रहेका गुरुङलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए । गुरुङसँग बसेर खिचेको फोटो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । हिरासतमा भएका व्यक्तिको फोटो खिचेको विषयमा पनि समितिले छानबिन गर्नेछ । 

सुझावित समाचार