विमानस्थल सुरक्षामा लापरबाही : भिआइपी कक्ष दुरुपयोग गर्दा दुई सय मात्रै जरिवाना

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि बढिरहेका वेला गल्ती गर्नेहरूलाई सजायको प्रावधान भने निकै कमजोर राखिएको छ । भिआइपी कक्षको दुरुपयोग गर्दासमेत दुई सय रुपैयाँ मात्रै जरिवाना हुने प्रावधान छ । ०१५ मा बनेको गैरसैनिक हवाई उडान ऐनमा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई दुई सय रुपैयाँ जरिवाना सजाय हुने प्रावधान छ । ऐनको दफा १० मा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई हुने सजायको प्रावधान छ । जसमा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई विमानस्थल प्रमुख अधिकारीको आदेशले दुई सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । कानुनको समयानुकूल संशोधन नहुँदा यस्तो विरोधाभास देखिएको हो । 

गत शुक्रबार दुबईबाट आएका रिजवान आलमले अनधिकृत रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेका थिए । यस्तो अपराधमा उनलाई दुई सय रुपैयाँ जरिवाना हुनेछ । कानुन संशोधन नहुँदा जरिवानाको सजाय ज्यादै कम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । ठगी मुद्दामा फरार रहेका आलम पासपोर्टसमेत अध्यागमनकै डेस्कमा छाडेर भागेका थिए ।

तर, त्यसरी अराइभलको अनुमति नलिई प्रवेश गर्दा त कारबाही हुने प्रस्ट प्रावधान नभएको भन्दै केही कारबाही गरिएको छैन । अनधिकृत क्षेत्रमा प्रवेश गरेकोमा उनीमाथि दुई सय जरिवाना गराउने विमानस्थल कार्यालयको तयारी छ । सो घटनाको विषयमा निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा छानबिन समिति बनेको छ । समितिलाई अनधिकृत व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्दा विमानस्थल कार्यालयबाट भएको त्रुटिदेखि सजायको व्यवस्था अध्ययन गर्ने जिम्मेवारीसमेत तोकिएको छ । 

रिजवान जेल चलान
दुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमार्फत भगाइएका रिजवान आलम जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एक करोड ६८ लाख रुपैयाँ ठगीको मुद्दामा फरार रहेका आलमलाई आइतबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । बयान सकिएपछि सोमबार जिल्ला न्यायाधीश प्रकाशराज पण्डितको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ठगीसम्बन्धी मुद्दामा सात वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान भएको र बिगो रकम ठूलो भएकाले अदालतले उनलाई थुनामा पठाएको हो । 

सुझावित समाचार