भारतीयलाई नक्कली मुद्दा प्रकरण : पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण
भारतीयलाई नक्कली मुद्दा प्रकरण : पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी

बैजुप्रसाद गुप्ता

व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाउने पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउपुर्जी जारी गरेको छ । अनुसन्धानको क्रममा उनकै योजनामा दुई भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएपछि उनी आफैँ यो मुद्दामा प्रतिवादी बन्ने भएका छन् । 

सो घटनामा पक्राउ परेका उनका सहयोगी रघुनाथ धोबीको बयान र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो । प्रहरीले घटनाको अनुसन्धान गरी गुप्तालाई पनि मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका एक अधिकारीले बताए । 

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो । छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दाेष देखिएका छन् । यद्यपि, दुई महिनादेखि उनीहरू प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरूलाई संलग्नता नदेखिएको गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयले यही साता गाउँपालिका अध्यक्षसहितलाई अदालतमा मुद्दा दायरको तयारी गरेको छ । 

लागुऔषध कारोबार भइरहेको छ भनी सूचना दिने धोबी पक्राउ परेपछि दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । पूर्वप्रहरी रहेका धोबी गाउँपालिकाका अध्यक्षको सहयोगीको रूपमा काम गर्दै आएका व्यक्ति हुन् । उनी पक्राउ परेलगत्तै छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको थियो । सरकारी वकिल कार्यालयले बरामदी मुचुल्का नसच्याएसम्म त्यत्तिकै छाड्न नमिल्ने अडान लिएको थियो । 

अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्म खत्रीले आफूले केही गल्ती नगर्दा पनि फसाउन लागिएको भन्दै मुचुल्का सच्याउन नमानेपछि मुद्दा प्रक्रियाबाटै छाड्न लागिएको हो । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले खटाएका सादा पोसाकका प्रहरीले सो समूहसँग मिलेर दुईजना भारतीयलाई योजनाबद्ध रूपमा फसाएका थिए । प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा सो कुरा पुष्टि भइसकेको छ । अभियोजन प्रक्रिया टुंगिएपछि यो घटनामा दोषी प्रहरीमाथि कारबाही हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी नलप्रसाद उपाध्याय बताउँछन् । 

नेपालमै कवाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग व्यावसायिक साझेदारी थियो । दुवै मिलेर एक मोटरसाइकल कम्पनीको कवाडी सामानको ठूलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो ।

सुझावित समाचार