गएराति डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरीसहित दुईजना घाइते भएका छन् ।
गएराति करिब १२ बजेको समयमा जितपुरसिमरा– २३ मा रहेको एरोटेक प्रालिमा चोरी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।
रड प्रहारबाट इलाका प्रहरी कार्यालय, जितपुरका वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भीर चोट लागेकाे छ । उनको वीरगन्जस्थित नेसनल हेल्थ केयरमा उपचार भइरहेको छ ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । डकैतीमा संलग्न व्यक्तिको साथबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये एकजना घाइतेको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।