उपत्यकामा कुन दलबाट को–को छन् सांसदका दाबेदार ?

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन् । दलहरूले ०७४ को निर्वाचनमा विजयी उम्मेदावरलाई पनि पुनः सिफारिस गरेका छन् । 

अघिल्लोपटक काठमाडौं उपत्यकाका १५ क्षेत्रमध्ये एमालेले काठमाडौंमा ६, भक्तपुरमा एक र ललितपुरमा दुई गरी नौ सिट जितेको थियो । यस्तै, माओवादीले ललितपुरको क्षेत्र नम्बर २ मात्रै जितेको थियो भने कांग्रेसले काठमाडौंमा चार सिट जितेको थियो । यस्तै, भक्तपुरको एक निर्वाचन क्षेत्रमा नेमकिपाले जितेका थियो । 

प्रतिनिधिसभा निर्वाचन, २०७४ मा काठमाठौं निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह, निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका माधवकुमार नेपाल, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै कृष्ण राई, निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेसका गगनकुमार थापा, निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेका ईश्वर पोखरेल, निर्वाचन क्षेत्र नम्बर ६ बाट एमालेका भीमसेनदास श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर ७ बाट रामवीर मानन्धर, निर्वाचन क्षेत्र नम्बर ८ बाटा एमालेकै जीवनराम श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर ९ बाट पनि एमालेकै कृष्णगोपाल श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बरबाट एमालेका राजेन्द्रकुमार केसी विजयी भएका थिए । 

यस्तै, ललितपुरको तीन निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्रमशः एमालेका नवराज सिलवाल र कृष्णलाल महर्जन विययी भएका थिए । निर्वाचन क्षेत्र नम्बर ३ मा मओवादीकी पम्फा भुसाल विजयी भएकी थिइन् । भक्तपुरको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट नेमकिपाका प्रेम सुवाल र २ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए । 

कांग्रेस : ०७४ मा निर्वाचितको सिट सुरक्षित गरेर उम्मेदवार सिफारिसको तयारी 

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नेको नाम संकलन भइरहेको छ । पार्टी निर्देशनअनुसार कांग्रेसले निर्वाचन क्षेत्रमा नाम संकलन र सिफारिस हुने क्रम चलिरहेको छ । यससँगै कांग्रेसबाट आकांक्षीले उम्मदेवारीका लागि निवेदन दिने क्रम सुरु भएको छ ।

कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले आकांक्षीका रूपमा धेरैको नाम चर्चामा रहेको बताए । काठमाडौंमा उम्मेदवारको नाम टुंगो लगाउने क्रममा रहेको उनको भनाइ छ । ‘धेरै नामको चर्चा छ । १६ भदौभित्र जिल्ला कार्यसमितिमा सिफारिस गर्न पार्टीको निर्देशन थियो। केहि क्षेत्रबाट सिफारीस भएर जिल्लामा आएका छन्। केहीको आएका छैनन् । प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा छलफल चलिरहेको छ,’ उनले भने । कांग्रेस काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनीका अनुसार काठमाडौं क्षेत्र नं. १, ५, ६, ७ र ८ बाट मात्र जिल्लामा नाम सिफारिस भएको जानकारी दिए । तर, आएका नामबारे जिल्लाले विवरण मात्र संकलन गरेको उनले जानकारी दिए । ‘सिफारिस भएर आएका क्षेत्रको नाममा जिल्लामा केही भएको छैन,’ उनले नयाँ पत्रिकासँग भने ।

कांग्रेसले ९ भदौमा परिपत्र गरी गठबन्धन भएको अवस्थामा छाड्ने प्रतिबद्धतासहित २० भदौभित्र केन्द्रमा नाम सिफारिस गर्न निर्देशन दिएको छ । कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले क्षेत्रबाट जिल्लामा सिफारिस नभएको बताए । उनले भक्तपुर– १ मा दुईजना र २ मा पाँचजनाको नाम उम्मेदवारका लागि निवेदन परेको जानकारी दिए । 

ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार क्षेष्ठले जिल्लामा उम्मेदवार सिफारिसबारे छलफल भइरहेको बताए । ‘छलफलकै क्रममा छ । नाम टुंगो लागिसकेको छैन,’ उनले भने । उपत्यकाका कांग्रेस नेताहरू ०७४ को निर्वाचनमा निर्वाचितलाई टिकट सुरक्षित गर्ने गरी उम्मेदवार सिफारिस भइरहेको बताउँछन् । ‘पार्टीबाट यसअघि प्रत्यक्ष निर्वाचित २३ जनाको सन्दर्भमा टिकट सुरक्षित राखेर उम्मेदवार सिफारिस गर्ने नीति लिएको छ । सोहीअनुसार सिफारिस हुनेछ,’ एक नेताले नयाँ पत्रिकासँग भने । उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले काठमाडौंको क्षेत्र नं. १, ४, ६ र १० मा जित हाासिल गरेको थियो । काठमाडौं क्षेत्र नं. २, ३, ५, ८, ९ र ललितपुरका तीनवटै र भक्तपुरका दुई निर्वाचन क्षेत्रमा गरी १० स्थानमा दोस्रो मत प्राप्त गरेको थियो । 

एमाले : काठमाडौंमा दशवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, ललितपुर र भक्तपुरको बाँकी 

एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी समिति सदस्यद्वय डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ तथा काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायतलाई उम्मेदवार बनाउने गरी एमालेका क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । काठमाडौंका चार निर्वाचन क्षेत्र २, ३, ४ ५ र ८ मा सर्वसम्मत उम्मेदवारको नाम सिफारिस भएको पोलिटब्युरो सदस्य तथा काठमाडौंका सहइन्चार्ज कृष्ण राईले बताए । बाँकीमा भने एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ । 

ललितपुरमा पुरानो क्षेत्र जोगाउने चुनौती
०७४ को निर्वाचनमा ललितपुरको तीनवटै निर्वाचन क्षेत्र वाम गठबन्धनले जितेको थियो । १ बाट एमालेका नवराज सिलवाल, २ बाट कृष्णलाल महर्जन र ३ बाट माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजय भएकी थिइन् । एमालेबाट निर्वाचित महर्जन एकीकृत समाजवादीमा लागेका छन् । त्यसैले ललितपुरमा एमालेलाई कम्तीमा अघिल्लो निर्वाचनमा जितेको दुईवटा निर्वाचन क्षेत्र जोगाउने चुनौती छ । 

क्षेत्र नम्बर १ मा अहिलेका सांसद नवराज सिलवाल, पूर्वजिल्ला अध्यक्ष मधुसूदन पौडेल मुख्य दाबेदार छन् । पौडेल ०६४ र ०७० मा उम्मेदवार भएर पराजित भएका थिए । गत वैशाखको स्थानीय तहको निर्वाचनमा दलगत हिसाबले लोकप्रिय मतमा एमाले अगाडि छ । तर, कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनभन्दा एमाले १४ सय मतले पछि छ । ललितपुर एमालेले यो क्षेत्रलाई प्रतिस्पर्धाबाट जित्ने क्षेत्रका रूपमा राखेको छ । 

भक्तपुरमा बस्नेत बलियो उम्मेदवार 

एमालेले सांसद महेश बस्नेतलाई भक्तपुरमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ०४८ देखि क्षेत्र नं. १ नेमकिपाले जित्दै आएको छ । त्यहाँ एमालेले चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रलाई अगाडि सार्ने तयारी गरेको छ । मिश्रसँगै बागमती प्रदेश सदस्य सरस्वती बाटी पनि चर्चामा छिन् । 

क्षेत्र नं. २ मा बस्नेतको नाममा लगभग सर्वसम्मतिकै अवस्थाजस्तै रहेको एमाले भक्तपुरका जिल्ला सदस्य उपेन्द्र केसीले बताए । यद्यपि, केन्द्रीय सदस्य निर्मल भट्टराईले पनि संघकै लागि दाबी गरेका छन् । भक्तपुर २ को दुई नगरपालिकामध्ये मध्यपुर ठिमी गठबन्धनले जितेको छ भने सूर्यविनायक नगरपालिका एमालेले जितेको छ । दलगत मतमा एमाले अगाडि रहे पनि गठबन्धनको समग्र मतमा भने केही मतले एमाले पछाडि छ । 

माओवादी : क्षेत्रको बैठक राखेर नाम सिफारिस गर्ने तयारी 

माओवादीले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । केही दिनअघि बसेको बागमती प्रदेशका केन्द्रीय कमिटी सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राथमिकताको आधारमा एक, दुई, तीन गरी वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिएका थिए । माओवादीले आवश्यक समन्वयका लागि केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रमा खटाएको छ । क्षेत्रको बैठक राखेर नाम सिफारिस गर्ने तयारी छ । आगामी २५ भदौभित्र उम्मेदवार टुंगो लगाउने माओवादी केन्द्रको तयारी छ ।

माओवादीले काठमाडौंमा कम्तीमा तीन सिट दाबी गरेको छ । ०७४ को निर्वाचनमा काठमाडौंमा कुनै पनि क्षेत्र जित्न नसकेको माओवादीबाट आगामी निर्वाचनका लागि १, ३, ६, ९ र १० मा आकांक्षी देखिएका छन् । माओवादीले दाबी गरेको क्षेत्रमा कांग्रेसले पनि दाबी गरेको छ । सिट बाँडफाँडको टुंगो नलागे पनि 
उम्मेदवार सिफारिस भने सबै क्षेत्रबाट आउने नेता हिमाल शर्मा बताउँछन् ।

एकीकृत समाजवादी : १५ वटै क्षेत्रमा उम्मेदवार सिफारिस

एकीकृत समाजवादीले काठमाडौं उपत्यकामा १५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । १५ वटा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले तय गरेको नामलाई तीनवटै जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेका छन् । एकीकृत समाजवादीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने र जिल्ला कमिटीले तीमध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्न सर्कुलर जारी गरेको थियो । सिफारिस नाममा प्रदेश कमिटीले आफ्नो धारणासहित केन्द्रमा पठाउनेछ । 

पाँचदलीय गठबन्धनमा एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा तीन र तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा एक सिट दाबी गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा भने एकीकृत समाजवादीको दाबी छैन । यद्यपि, सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएका छन् । गठबन्धन भएको अवस्थामा सबै क्षेत्रमा उम्मेदवार उठाउने एकीकृत समाजवादीको दाबी छ । 

नेमकिपा : अझै छलफलमै
अन्य दलभित्र धमाधम उम्मेदवार सिफारिस भइरहँदा भक्तपुरमा बलियो मानिएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अझै उम्मेदवार टुंगो लगाएको छैन । यसअघि भक्तपुर–१ बाट निर्वाचित सांसद प्रेम सुवालका अनुसार आउँदो चुनावको उम्मेदवारका विषयमा पार्टीभित्र निर्णय नै भएको छैन । ‘अझै छलफलकै क्रममा छौँ । हामीलाई हतार छैन, त्यसैले उम्मेदवारको टुंगो नगरिएको हो,’ उनले भने ।

काठमाडौं–२ मा राप्रपाको विशेष नजर  

  • काठमाडौं १– शोभित उप्रेती, भुवन लामिछाने
  • काठमाडौं २ – नवराज सिम्खडा, रेखा थापा, कुन्ती पोखरेल
  • काठमाडौं ४ – महामन्त्री भुवन पाठक
  • काठमाडौं ५ – केशव रेग्मी, सुरज पाण्डे 
  • काठमाडौं ८ – विक्रमबहादुर थापा, प्रकाश रिमाल, उद्धव थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिलेसम्म काठमाडौंको उम्मेदवार टुंगो लगाइसकेको छैन । राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिम्खडाका अनुसार शनिबारसम्म नाम टुंगो लगाउने र आइतबार जिल्लाको बैठकमार्फत निर्णय गर्ने तयारी छ । ‘त्यसपछि त्यही दिन सिफारिस पठाउँछौँ,’ उनले भने । यद्यपि, नाम टुंगो नलागे पनि काठमाडौंका विभिन्न क्षेत्रबाट आकांक्षी भने देखिएका छन् ।

काठमाडौं १ बाट शोभित उप्रेती र भुवन लामिछाने बलिया आकांक्षी छन् । उपत्यकामा काठमाडौं क्षेत्र नम्बर २ राप्रपाले विशेष नजर लगाएको क्षेत्र हो । गत स्थानीय निर्वाचनमा यही क्षेत्रभित्र पर्ने शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाकै उम्मेदवार रमेश नापितले मेयर जितेपछि पनि यहाँ धेरै आकांक्षी रहेको बुझिएको छ ।  

जिल्ला अध्यक्ष सिम्खडादेखि केन्द्रीय सदस्य एवं अभिनेत्री रेखा थापा, अर्की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलसमेत यो क्षेत्रबाट उम्मेदवार बन्न चाहेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्रका रूपमा परिचित यो क्षेत्रमा एमालेको सहयोग भयो भने जित्ने आकलनमा राप्रपा छ । एमालेसँग तालमेलबारे छलफल गर्दा पनि राप्रपाले काठमाडौं २ मा आफूलाई सघाउनुपर्ने दाबी गर्दै आइरहेको बुझिएको छ ।

त्यस्तै काठमाडौं– ४ बाट राप्रपाका महामन्त्री भुवन पाठक नै उठ्ने तयारीमा छन् । काठमाडौं– ५ बाट भने केशव रेग्मी र सुरज पाण्डेले आकांक्षा देखाएका छन् । त्यस्तै, काठमाडौं– ८ बाट विक्रमबहादुर थापा, प्रकाश रिमाल र उद्धव थापाले उम्मेदवार बन्न चाहेका छन् । 

के भन्छन् राजनीतिक विश्लेषक

आउँदो निर्वाचनको परिदृश्य उम्मेदवारमा निर्भर हुन्छ : लोकराज बराल राजनीतिक विश्लेषक

आउँदो निर्वाचनको परिदृश्य दलको पोजिसन र उसले दिने उम्मेदवारमा निर्भर हुन्छ । दलहरूले कमजोर उम्मेदवार दिए भने यसको फाइदा स्वतन्त्र उम्मेदवारले उठाउन सक्छन् । तर, स्थानीय निर्वाचनमा बालेन साहले जिते भन्दैमा त्यस्तै परिणाम फेरि दोहोरिन्छ भन्ने ग्यारेन्टीचाहिँ छैन ।

लौरो अभियान चलाउँदैमा नामै नसुनिएका अनुहार देखापरे भने त्यसले फरक नपर्न सक्छ । बालेन्द्र र्‍याप गायक थिए, युवा मतदाताले उसको पक्षमा लहर चलाउनु उसका लागि फाइदाजनक भयो । तर, सबैले त्यस्तै लहर चलाउन सक्छन् भन्ने छैन । यद्यपि, काठमाडौंका मतदाता अहिलेका राजनीतिक दलहरूबाट ‘फ्रस्टेड’ भएको अवस्था छ ।

स्थानीय निर्वाचनले पनि त्यस्तै देखायो । यस्तो अवस्थामा अहिलेसम्म सुनिएका पार्टीका उपत्यकाभित्रका उम्मेदवार खासै आसलाग्दा देखिँदैनन् । यसमा दलहरूले विवेक पुर्‍याएर निर्णय गरेनन् भने स्वतन्त्र उम्मेदवारहरू चुनौती बन्न सक्छन् । तर, स्वतन्त्रबाट उठ्ने उम्मेदवार पनि उस्तै कमजोर भएचाहिँ भन्न सकिन्न । 

अलिकति प्रतिबद्धता भयो भने स्वतन्त्रले काम गर्न सक्छन् : भास्कर गौतम राजनीतिक विश्लेषक

स्थानीय तहमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार बालेन साह र हर्क साम्पाङहरूले अहिले फरक शैली भए पनि जसरी काम गरिरहेका छन्, त्यसले परम्परागत पार्टीलाई दबाब बढेको छ । अलिकति प्रतिबद्धता भयो भने स्वतन्त्रले काम गर्न सक्छन् भन्ने सन्देशचाहिँ गइरहेको छ । जसको असर आउने निर्वाचनमा पर्छ नै । कुन क्षेत्रमा कसरी पर्छ, त्यो अर्कै कुरा भयो । 

स्वतन्त्र : ठूला दललाई टक्कर दिने तयारीमा

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले जितेपछि यसपटक प्रतिनिधिसभा निर्वाचनमा दलहरूलाई टक्कर दिन सबैजसो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिने भएका छन् । बालेन्द्र साहको जितले उपत्यकाका मतदातामा रहेका प्रमुख दलहरूप्रति असन्तुष्टि पोखिएको भन्दै स्वतन्त्र उम्मेदवार यसको फाइदा उठाउने दाउमा छन् । 

सामाजिक तथा राजनीतिक अभियन्ताका रूपमा परिचित पुकार बमले काठमाडौं– १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी विवेकशील नेपाली दलका संस्थापकमध्येका एक हुन् । ‘अकुपाई बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अनशन, ‘नेपाल खुला छ’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा उनले सहभागिता जनाएका थिए । काठमाडौं– १ बाटै पूर्वडिआइजी रमेश खरेल पनि चुनाव उठ्ने तयारीमा छन् । भ्रष्टाचारविरुद्धको अभियान भन्दै नेपाल सुशासन पार्टीको नेतृत्व गरिरहेका उनको उम्मेदवारीले पनि मत विभाजनमा भूमिका खेल्ने आकलन छ । 

बिमा व्यवसायी कोषराज सुवेदीले काठमाडौं– २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै सेयर मार्केटमा सक्रिय रोहन कार्कीले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ । काठमाडौं– ३ बाट रेडियोकर्मी हरिशरण लामिछाने स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।

काठमाडौं– ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गएको छ । युवा इन्जिनियर आकर्षण पोखरेल, सामाजिक सञ्जालमा चर्चित अर्जुन प्रसाईं, सेयर कारोबारी राधा पोखरेल, समाजसेवी शिवराज पोखरेलसम्मले उम्मेदवारी दिने घोषणा गरेका छन् । महानगरको मेयरमा हारेका सामाजिक अभियन्ता सुमन सायमी संघको निर्वाचनमा उठ्ने भएका छन् । उनले काठमाडौं– ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मेयरमा उनले १३ हजार सात सय ७० मत ल्याएका थिए ।  

मैदानमा फेरि ‘लौरो’ 
स्थानीय तह निर्वाचनमा निकै चर्चामा आएको चुनाव चिह्न हो– लौरो । कारण, लामो इतिहास बोकेका ठूला दलका लोकप्रिय चुनाव चिह्नलाई पनि यसले नराम्रोसँग हिर्काइदियो । यही चुनाव चिह्नबाट दुई स्वतन्त्र उम्मेदवारले मेयरमा जिते, काठमाडौं महानगरबाट बालेन साह र धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ ।

त्यतिवेला उनीहरूसँगै उनीहरूको चुनाव चिह्नले पनि खुब चर्चा पाएको थियो । भोट माग्न जाँदा उनीहरूको नारा नै थियो– ‘लौरा– बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’

सुझावित समाचार