करेन्ट लागेका छोरालाई जोगाउन खोज्दा बाबुछाेराकै मृत्यु

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिका– ६ ग्रामीण बजारमा बिहीबार अपराह्न करेन्ट लागेर घाइते भएका छोरालाई जोगाउन खोज्दा बाबुछोराकै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार करेन्ट लागेर घाइते भएका स्थानीय ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै बाबुछाेरालाई गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार गरी थप उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

उनका अनुसार साहको घरआँगनमै रहेको इनारमा पानी तान्न जडान गरिएको विद्युतीय मोटर बुधबार बिग्रिएपछि बिहीबार अपराह्न करिब साढे ३ बजेतिर छोरा अमर मोटर हेर्न इनारमा पसेका थिए । इनारमा पसेको निकैबेरसम्म पनि नफर्किएपछि हेर्न गएका बाबुले छोरालाई करेन्ट लागेर अचेत अवस्थामा देखेपछि जोगाउन खोज्दा उनलाई पनि करेन्ट लागेको हुन सक्ने उनले बताए । 

तत्काल प्रहरीलाई खबर गरिएपछि स्थानीयको समेत सहयोगमा घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बाबुछोराको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।
 

सुझावित समाचार