मुग्लिन - नारायणगढ सडकखण्डको सकस (भिडियोसहित)

जहाँ बैशाखदेखि आजसम्म ३५ पटक पहिरो गएको छ

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

लामो समय र धेरै लागत लगाएर मुग्लिन–नारायणगढ सडकखण्ड पुनर्निर्माण भए पनि वर्षायाम सुरु भएपछि यात्रुले पाउने सास्ती हट्न सकेको छैन। बारम्बार पहिरो गएर कहिले सडक एकातर्फी त कहिले दुवैतर्फी बन्द गर्नुपरेको छ। बिहीबार भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण ८ घण्टा सडक अवरुद्ध भयो। बाटो खुल्ने प्रतीक्षामा रहेका दाङका सुजन अधिकारी बुधबार साँझ ५ बजे काठमाडौं जान हिँडेका थिए।

तर, बिहीबार बिहान ५: ५० बजेको समयमा मौरी खोलामा खसेको पहिरोका कारण उनको गाडी रोकियो। साँझको खाना खाएर बस चढेका उनी बिहीबार दिउँसो १ बजेसम्म भोकै थिए। वैदेशिक रोजगारीको लागि खाडी मुलुक जान लागेका भाइलाई त्रिभुवन विमानस्थल पुर्याउन आएका उनलाई भोकको भन्दा भाइको प्लेन छुट्ने चिन्ता थियो।  

एम्बुलेन्ससँगै सडकमा सयौँ संख्यामा रहेका यत्रुबाहक र मालबाहक सवारीसाधन पहिरोका कारण रोकिएका थिए। माथिबाट खसेको लेदोसहितको पहिरोले एउटा पुल नै पुरेको थियो। राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्गमा यात्रुले बिहीबार पाएको सास्ती नौलो भने होइन। साउन तेस्रो हप्ता लगातार २३ घण्टा यो सडक अवरुद्ध बनेको थियो। हुन त बर्खा लागेसँगै दजनौँपटक पहिरोका कारण उपत्यका प्रवेशको लाइफलाइन मानिने मुग्लिन–नारायणगढ सडक अवरुद्ध बन्दै आएको छ। 

विश्व बैंकको ऋण सहयोगमा झन्डै चार वर्षअघि उक्त सडकखण्डको पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरेर सडक डिभिजनलाई हस्तान्तरण गरिएको थियो। ३६ किलोमिटर लामो यस सडकको भरतपुर २९  केराबारी मौरी खोला, १७ किलो, १८ किलो र इच्छाकामना गाउँपालिको चारकिलो नजिकको नाम्सी पुललगायतका स्थानहरूमा पछिल्लो समय पहिरोले दुःख दिएको छ। यी ठाउँमा वैशाखदेखि आजसम्म ३५ पटक पहिरो गएको छ। जसमध्ये भरतपुर २९, केराबारीको मौरी खोला र इच्छाकामना गाउँपालिकामा पर्ने नाम्सी पुलमा पटक-पटक पहिरो गएको छ। 

सडक डिभिजन कार्यलय चितवनका इन्जिनियर सागर कार्की भौगोलिक कारणले सडक चौडा गर्दा काटिएको भित्ता कमजोर भएको र समन्वय नगरीकन पहुँच मार्ग खोल्दा पहिरोको समस्या सिर्जना भएको बताउँछन्। यद्यपि, मौरी खोलामा खसेको पहिरो भने प्राकृतिक प्रकोपको कारण भएको उनी बताउँछन्। कार्कीका अनुसार अबिसको टेक्निकल टिमसहित अहिले धादिङ र चितवनका लागि ५ वटा सवारीसाधन पहिरो हटाउन राखिएको छ। तर, सामान्य वर्षामा पनि पहिरोका कारण बाटो अवरुद्ध भएपछि नारायणगढसम्म सवारीसाधनको लाम लाग्ने गरेको छ।

सुझावित समाचार