सन्दीप बने म्यान अफ दी सिरिज

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

केन्यासँगको पाँच टी–२० शृंखलामा नेपाली कप्तान सन्दीप लाछिाने म्यान अफ दी सिरिज भएका छन् । सिरिजमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सन्दीप म्यान अफ दी सिरिज भएका हुन् । 

उनले पाँच खेलमा सर्वाधिक १२ विकेट लिए । सन्दीपले दोस्रो खेलमा पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिएका थिए । यसक्रममा उनले केवल नौ रन मात्र दिए । 

सन्दीप तेस्रो खेलमा मात्र विकेटविहीन भए । उनले पहिलो खेलमा २६ रन खर्चेर दुई विकेट तथा तेस्रो खेलमा २६ रन खर्चेर तीन विकेट हात पारे । 

पाँचाैँ खेलमा सन्दीप आफ्नो अन्तिम स्पेलमा खर्चिलो देखिए । यद्यपि, उनले ३३ रन खर्चेर दुई केन्याली ब्याट्सम्यानलाई आउट पार्न सफल भए । सन्दीपले सिरिजमा कुल ११ रन बनाए । 

मल्ल दोस्रोपटक म्यान अफ दी म्याच
नेपालले पाँचौँ खेलमा केन्यालाई हराउन पूर्वकप्तान ज्ञानेन्द्र मल्लको योगदान मुख्य रह्यो । उनले प्रतियोगिताकै पहिलोपटक तथा करिअरकै दोस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतकीय योगदान दिँदा नेपालले २० ओभरमा सात विकेटको नोक्सानीमा एक सय ७५ रनको विशाल योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा केन्याले २० ओभरमा सातै विकेट गुमाएर एक सय ४४ रन जोडेको थियो । ज्ञानेन्द्रले ५९ रन बनाउन ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । यसै प्रदर्शनका कारण उनी अन्तिम खेलकै म्यान अफ दी म्याच भए । यसअघि तेस्रो खेलमा पनि उनी खेलकै उत्कृष्ट खेलाडी बनेका थिए । 
 

सुझावित समाचार