सेयर बजारको इतिहासमै ३२ सयसम्म पुगेको इन्डेक्स करिब १२ सय अंकले घटेर यतिवेला नेप्से परिसूचक दुई हजार ३९ दशमलव ५५ बिन्दुमा आइपुगेको छ । यतिवेला ठूलो अंकमा लगानी गरेका लगानीकर्ता प्यानिक बन्न पुगेका छन् भने बजारमा आइरहेको उत्तारचढावले नयाँ लगानीकर्ताहरू लगानी बढाउन तयार भएका छैनन् । घट्दो बजारमा पनि लगानी गरेर नाफा कमाउन सकिने नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन् :
- लगानीकर्ताले घट्दा (रातो) लगानी गर्ने र बढ्दा (हरियो) रमाउने हो । यसलाई आधार मानेर सकेसम्म राम्रो कम्पनीको छनोट गरी लगानी गर्ने, एकैपटक ठूलो पुँजीमा लगानी नगर्ने ।
- आफूसँग भएका नराम्रा र वित्तीय विवरण कमजोर भएका कम्पनीलाई हटाएर नयाँ र राम्रो कम्पनीको छनोट गर्ने ।
- घटेको वेला लगानीकर्ताले कर्जा लिएर लगानी नगर्दा राम्रो, सकेसम्म आफूसँगै भएको पुँजीले लगानी गर्दा जोखिम र तनाव दुवै कम हुन्छ ।
- यतिवेला कम्पनीहरूले लाभांश वितरणको समय भएकाले कम्पनीले दिन सक्ने लाभांशको अवस्थालाई हेरेर राम्रो लाभांश दिने कम्पनीको छनोट गर्ने ।
- बजार घट्दैमा नआत्तिने र सकेसम्म बजारको अवस्थालाई बुझेर मात्र सेयर किनबेच गर्ने