पहिलो अन्तर्राष्ट्रिय टी–२० मा अर्जुन साउदले छक्काको वर्षा गरेका छन्। विकेट विकर ब्याटरका रूपमा टिममा स्थान बनाएका अर्जुनले टी–२० मा पहिलो अन्तर्राष्ट्रिय रन नै छक्का प्रहारबाट लिए।
केन्याका लुकासको चौथो बलमा अर्जुनले डिप मिडविकेटमा सानदार छक्का प्रहार गरे। त्यसअघि उनले लुकासका दुई बलमा कुनै रन बनाएका थिएनन्। नेपाली ब्याटिङ इनिङको सुरुवात गरेका पवन सर्राफले पहिलो बलमा एक रन लिएपछि अर्जुन स्ट्राइकमा पुगेका थिए।
त्यसपछिको रन पनि उनले छक्काबाटै बटुले। दोस्रो ओभरको पहिलो बलमा उनले बुन्डीलाई डिप मिडविकेटमै पुनः सानदार छक्का हाने। उनले छैटौँ ओभरको पाँचाैँ बलमा सेन गोचेलाई छक्का प्रहार गरे। क्रिजबाट बाहिर निस्किएर उनले लङ अनमा प्रहार गरेको बलले सीमाबाहिरसम्मको उडान भरेको थियो।
११औँ ओभरको पहिलो बलमा त्यसैगरी बाहिर निस्किएर छक्का प्रहार गर्न खोज्दा उनी पटेलको बलमा बोल्ड हुन पुगे। दुई चोकासमेत प्रहार गरेका अर्जुनले ३५ रन बनाई डेब्युलाई स्मरणीय बनाए।
