टिकट पाइनँ भनेर असन्तुष्ट नहुन एमाले नेताहरूलाई ओलीको निर्देशन

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाइनँ भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सिंगो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टीपंक्तिलाई सचेत गराए।

पार्टीपंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाइ थियो। नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागे मात्रै पार्टीको हित हुने पनि पटक-पटक दोहोर्याए। 

‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरू एकजुट भएर लागिराख्या छन्। यस्तो अवस्थामा उनीहरूले हाम्रो विरुद्धमा भ्रम फिँजाउन खोजिरहेका छन्। हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन्। हाम्रा विरुद्ध मानिसहरूलाई उचाल्न खोज्छन्,’ अध्यक्ष ओलीले भने,‘कोही पनि साथीहरू पार्टीको विरुद्ध उचालिनु, अधैर्य बन्नुहुँदैन । एउटा निर्वाचन क्षेत्रमा एकजना उम्मेदवार हुन्छ। प्रदेश क्षेत्र पनि १-१ जना उम्मेदवार हुन्छ। त्यति नै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस्। उम्मेदवार पाइनँ भनेर असन्तुष्ट हुने हो भने एकजनाले उम्मेदवारी पाउँछ, बाँकी अरू त असन्तुष्ट हुने भए नि।’

सुझावित समाचार