अरूको भन्दा गुगल क्रोमको फरक विशेषता के थियो र छ भने यसका प्रत्येक ट्याब छुट्टाछुट्टै खुल्छन्
प्रारम्भिक चरणमा इन्टरनेट एकदमै प्राविधिक इन्टरफेस थियो । अधिकांश मानिसका लागि इन्टरनेट खोजी कठिन काम लाग्थ्यो । तर, सन् १९९३ मा इन्टरनेट खोजीका लागि मोजाइक वेब ब्राउजरको प्रवेशपछि भने यसले सबै कुरा परिवर्तन गरिदियो । मोजाइक पहिलो ‘युजर–फ्रेन्ड्ली’ इन्टरनेट पोर्टल थियो । यद्यपि, अहिलेका ब्राउजरहरूको तुलनामा भने निकै अप्ठ्यारो नै थियो । जनवरी १९९४ देखि मार्च २०२२ सम्मका केही प्रमुख वेब ब्राउजरहरूको उदय र पतनको कथा यस्तो छ :
सन् १९९० को दशक : मोजाइकदेखि नेटस्केपसम्म
९० को दशकको सुरुवाती कालखण्डमा मोजाइक सबैभन्दा प्रभुत्वशाली वेब ब्राउजर रह्यो । सन् १९९४ को जनवरीमा वेब ब्राउजरमा मोजाइकको बजारहिस्सा ९७ प्रतिशत थियो भने बाँकी तीन प्रतिशत अरूले लिएका थिए । अर्थात्, ९७ प्रतिशत इन्टरनेट खोजी यही लोकप्रिय वेब पोर्टलमार्फत हुन्थ्यो ।
खोजका नतिजा देखाउने पेजमा अक्षरका साथै तस्बिरसमेत प्रदर्शन गर्ने पहिलो ब्राउजर थियो, मोजाइक । त्यसअघिका ब्राउजरले तस्बिरलाई छुट्टै फाइलका रूपमा लोड गर्थे, जसलाई हेर्न नयाँ फाइल खोल्नुपर्ने हुन्थ्यो । २१ वर्षे युवा मर्क एन्ड्रिसेन नेतृत्वको समूहले यो ब्राउजर बनाएको थियो ।
खोजका नतिजा देखाउने पेजमा अक्षरका साथै तस्बिरसमेत प्रदर्शन गर्ने पहिलो ब्राउजर थियो, मोजाइक । त्यसअघिका ब्राउजरले तस्बिरलाई छुट्टै फाइलका रूपमा लोड गर्थे, जसलाई हेर्न नयाँ फाइल खोल्नुपर्ने हुन्थ्यो । २१ वर्षे युवा मर्क एन्ड्रिसेन नेतृत्वको समूहले यो ब्राउजर बनाएको थियो । पछि उनी मोजाइक कम्युनिकेसन कर्पाेरेसनको सह–संस्थापक बने । यही कम्पनी पछि नेटस्केप कम्युनिकेसन कर्पाेरेसनमा विकसित भएको थियो, जुन कम्पनीले नेटस्केप नेभिगेटर ब्राउजर बनायो । नेटस्केप मोजाइककै सुधारिएको संस्करण थियो ।
नेटस्केप आउनासाथ लोकप्रिय भयो । फलस्वरूप इलिनोइस विश्वविद्यालयको स्वामित्वमा रहेको मोजाइकको बजारहिस्सा खस्किन सुरु भयो । सन् १९९० को दशकको उत्तराद्र्धमा आइपुग्दा नेटस्केपले वेब ब्राउजरको ८९ प्रतिशत बजारहिस्सा लिइसकेको थियो । त्यसको केही वर्ष नेटस्केपले एकछत्र प्रभुत्व जमायो । नयाँ सहस्राब्दीसँगै यसको स्थान इन्टरनेट एक्सप्लोररले लियो ।
सन् २००० को दशक : पहिले इन्टरनेट एक्सप्लोरर, पछि फायरफक्स
सन् १९९५ मा माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डो ९५ कै प्याकेजका रूपमा इन्टरनेट एक्सप्लोरर सुरु गरेको थियो । माइक्रोसफ्टका कारण एक्सप्लोररले तत्कालै बजार पिट्यो । सन् २००० को सुरुवाती वर्षमा यसले ९० प्रतिशतसम्म बजारहिस्सा ओगट्न सफल भएको थियो ।
सन् १९९० को दशकको अन्तिममा नेटस्केप बजारबाट लगभग फेजआउट भइसकेको थियो । मोजिला नआउँदासम्म इन्टरनेट एक्सप्लोररको प्रतिस्पर्धी कोही भएन । उसको एकाधिकारजस्तै भयो । त्यसपछि नेटस्केपका सदस्यले सन् १९९८ मा मोजिला सुरु गरे । उनीहरूले नेटस्केपको सोर्स कोड सार्वजनिक गरेर वेब ब्राउजरमा नवप्रवर्तनका लागि बाटो खोल्ने काम पनि गरे । सन् २००४ मा मोजिलाले फायरफक्स सुरु गर्यो ।
सन् २००६ मा पुग्दा उसले ३० प्रतिशत बजारहिस्सा लिइसकेको थियो । फायरफक्स र इन्टरनेट एक्सप्लोररको प्रतिस्पर्धा केही वर्षसम्म चल्यो । सन् २०१५ मा पुग्दा यी दुवै ब्राउजरलाई गुगल क्रोमले उछिन्न थालिसकेको थियो । अहिले क्रोमकै दबदबा छ ।
वर्तमान : गुगल क्रोम वेब ब्राउजरको दबदबा
गुगलका सह–संस्थापक ल्यारी पेज र सर्जे ब्रिनले सन् २००३ मा नै गुगल ब्राउजर सुरु गर्न खोजेका थिए । तर, आफ्ना सहकर्मी सेमिड्टलाई सन् २००८ मा मात्रै कन्भिन्स गर्न सके । त्यसपछि सन् २००८ बाट गुगल क्रोमले इन्टरनेट खोजीको दुनियाँलाई सहजीकरण गर्न थाल्यो । अरूको भन्दा गुगल क्रोमको फरक विशेषता के थियो र छ भने यसका प्रत्येक ट्याब छुट्टाछुट्टै खुल्छन् । एउटा ट्याब बन्द गरियो वा क्र्यास भयो भने पनि अरूलाई असर गर्दैन । सन् २०१३ मा आइपुग्दा क्रोमले ५० प्रतिशत बजारहिस्सा लिइसकेको थियो । मोबाइलको लोकप्रिय अपरेटिङ सिस्टम एन्ड्रोइडले यसलाई अझ माथि पुर्याइदिएको छ ।