खेमराज गुरुङ ट्रस्टले श्रेष्ठ र ढुंगानालाई सम्मान गर्ने

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङको नाममा स्थापना भएको ‘खेमराज गुरुङ ट्रस्ट’ले यस वर्ष दुईजना गायकलाई सम्मान गर्ने भएको छ । खेमराज गुरुङ स्रष्टा सम्मानअन्तर्गत वरिष्ठ गायक दीप श्रेष्ठ र प्रतिभा पुरस्कारअन्तर्गत गायक तथा संगीतकार भविन ढुंगानालाई सम्मान गर्ने निर्णय गरिएको ट्रस्टका सचिव दीपेन्द्र वान्तवाले जानकारी दिए । सचिव वान्तवाका अनुसार भदौ ३ गते स्वर्गिय गायक गुरुङको छैटौँ वार्षिक पुण्यतिथिको अवसरमा ट्रस्टले संखुवासभाको सदरमुकाम खाँदबारीमा गायकद्वयलाई सम्मान गर्न लागेको हो । 

ट्रस्टले गुरुङको स्मृतिमा हरेक वर्ष स्रस्टा सम्मान तथा प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । यसअघि ट्रस्टले ‘खेमराज गुरुङ स्रष्टा सम्मान’बाट जनगायक रामेश, वरिष्ठ गीतकार रत्नशमशेर थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरेको थियो । त्यस्तै, खेमराज प्रतिभा पुरस्कार यसअघि गायक सुसन लामा, गायिका मेलिना राई र संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो । 

पुरस्कारको राशि सम्मानतर्फ नगद ५० हजार, दोसल्ला र कदरपत्र रहेको छ भने प्रतिभा पुरस्कारतर्फ नगद २० हजार, दोसल्ला र कदरपत्र रहेको छ । कार्यक्रम शुक्रबार खाँदबारीको पोखरी बजारमा हुने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन राजेशपायल राईलगायतका कलाकार संखुवासभा आउने बताइएको छ । स्वर्गीय गुरुङको ‘वारि जमुना, पारि जमुना’, आलु तामालेलगायतका दर्जनभन्दा बढी गीत लोकप्रिय छन् । 

सुझावित समाचार