दाङको शान्तिनगर गाउँपालिकाको कृषि सेवा शाखाले बजार मूल्यभन्दा बढी तिरेर धान दाउने ‘पंखा’ खरिद गरेको पाइएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्न २५ थान पंखा खरिद गरिएको थियो । उक्त पंखाको बजार मूल्य प्रतिथान ६ हजार ६ सय रुपैयाँ छ, तर शाखाले आठ हजार पाँच सयमा खरिद गरेर किसानलाई चार हजार दुई सय ५० मा बिक्री गरेको छ ।
गाउँपालिकाको कृषि सेवा शाखाका प्रमुख एमकान्त पाण्डेले चलनचल्तीको मूल्यभन्दा पंखाको मूल्य बढी पर्न गएको स्विकारेका छन् । उनले सप्लायर्सकै लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरे ।
३ असारमा बसेको वडा बैठकले सामग्री खरिद गर्ने निर्णय गरेको थियो । त्यो पत्र गाउँपालिकाको कृषि शाखामा १२ असारमा आइपुगेको कृषि शाखा प्रमुख एमकान्त पाण्डेले बताए । पत्र प्राप्त गरेपछि आफूहरूले कृषि र जिन्सी शाखासँग समन्वय गरेर सुरुमा कोटेसन आह्वान गरेको उनले बताए । त्यसमा विभिन्न तीनवटा सप्लायर्सले कोटेसन हालेका थिए । त्यसमध्ये सबैभन्दा कम मूल्यमा पंखा दिन तयार तुलसीपुरस्थित कुसुम्या सप्लायर्ससँग सम्झौता गरिएको थियो ।
‘यति धेरै मूल्य किन भयो, भनेर हामीले सप्लायर्सलाई पनि सोध्यौँ’, उनले भने, ‘त्यतिवेला फलामको मूल्य बढेकाले महँगो भएको भनेर प्रतिक्रिया दिएपछि, हामीले त्यही मूल्यमा कारोबार गरेका हौँ । यसमा सप्लायर्सकै कमजोरी छ ।’
वडा ६ का २४ जना किसानलाई उक्त पंखा बिक्री गरिएको वडासचिव अनन्त प्रकाशले बताए । एउटा मेसिन बिग्रिएको उनले बताए । ‘गएको वर्ष ०७८–७९ को दुई लाख बजेटबाट हामीले २५ वटा धान दाउने पंखा, ७८ वटा स्प्रे प्लास्टिक ट्यांकी, तीन थान कर्न सेलर र पाँच थान ज्याप प्लान्ट खरिद गर्न गाउँपालिकाको कृषि शाखालाई निर्णयसहित पत्र लेखेर पठाएका थियौँ,’ प्रकाशले भने, ‘अहिले वडाको बजेट भए पनि पालिकाबाटै खरिद गर्ने कुरा छ । हामीले वडाको निर्णयसहित सामग्री खरिदका लागि पत्र पठायौँ, त्यहीअनुसार गाउँपालिकाले यी सामग्री खरिद गरेर पठायो, अनि हामीले गाउँमा वितरण गरेका हौँ ।’