साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत भारतसँगको आजको खेल निकै महत्वपूर्ण थियो । यसअर्थमा पनि कि, यो खेल जितेको अवस्थामा नेपालले प्रतियोगिताको फाइनल सुरक्षित गर्ने थियो ।
अघिल्ला दुई खेलमा सानदार जित हासिल गरेकाले नेपालको मनोबल उच्च थियो । बंगालदेशले आफ्ना तीनवटै खेल जितेर फाइनल सुरक्षित गरिसकेको अवस्थामा नेपालले पनि आइतबार भारतलाई हराएर बंगालदेशसँग फाइनल भेट पक्का गर्ने धेरैको अपेक्षा थियो ।
यो अपेक्षा किन पनि नाजायज थिएन भने, दुई खेल सकिँदा भारतले ३ अंक मात्र जोडेको थियो भने नेपालले ६ अंक हासिल गरिसकेको थियो । भारत आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
यता, नेपालले माल्दिभ्स र श्रीलंकालाई क्रमशः ४ र ३ गोल गरी आफूलाई बलियो टिम साबित गरिसकेको थियो । तर, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ आइतबार पुनः साबित भयो ।
स्पष्ट जितको लक्ष्यसहित नेपाली प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध उतारेको टिम नेपाल ज्यादै निरीह देखियो ।
पहिलो हाफमा गोलरक्षकको एउटा गम्भीर त्रुटिबाहेक मैदानमा नेपाल कमजोर थिएन । दुवै बराबरीको अवस्थामा देखिन्थे । नेपालले गोलका केही सुन्दर अवसर गुमाएकाले पहिलो ४५ मिनेट सकिँदा नेपाल १–० ले पछि पर्यो ।
जब दोस्रो हाफको ह्विसिल बज्यो, नेपाली खेलाडीलाई भारतीय खेलाडीले सहजै डोमिनेट गर्न थाले । मैदानका सबै भागमा भारतीय खेलाडी हावी देखिए । मैदानमा नेपाली खेलाडीको प्रदर्शन हेर्दा पहिलो हाफपछि ड्रेसिङ रूपमा दोस्रो हाफको ४५ मिनेट यसरी खेल्ने भन्ने रणनीति नै बनेन कि भन्ने अवस्था देखिन्थ्यो । अथवा, प्रशिक्षकले बनाएको रणनीति कुनै पनि खेलाडी बुझेनन् जस्तो देखिन्थ्यो । फलस्वरूप मैदान प्रवेश गरेको पाँच मिनेटभित्रै नेपालले गोल व्यहोर्यो । त्यसपछि कुनै पनि वेला सम्हालिन सकेन ।
साफ यू–२० च्याम्पियनसिपको सबैभन्दा सफल टिम नेपाल मैदानमा भारतसामू ज्यादै निरीह देखिन्थ्यो । प्रतिस्पर्धामा होइन, खेलाडीहरू खेल किने प्रतीक्षामा भएजस्तो लाग्यो । रेफ्रीले लामो ह्विसल बजाउँदा नेपालले ८–० गोल व्यहोरिसकेको थियो । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा अन्तिम ह्विसल बज्दा नेपाली खेलाडी शिर निहुर्याएर मैदानमा झुकिरहेका थिए । यो एउटा बिर्सनालायक विपनाजस्तै थियो । ठीकविपरीत भारतीय क्याम्पमा खुसीको माहोल थियो । कमेन्टेटर भन्दै थिए, ‘यो नतिजा पक्का भोलिको अखबारको हेडलाइन बन्नेछ ।’
पछिल्लो ४५ मिनेट सम्हालिन नसक्दा नेपाल जारी प्रतियोगिताको सबैभन्दा खराब नतिजा आफ्नो नाममा लेखाउन सफल भयो । खेल तालिकामा दोस्रो स्थानबाट तेस्रोमा ओर्लिन पुग्यो भने । फाइनल यात्रा निकै कनिठ बन्न पुग्यो ।
अब चौथो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । त्यो बंगलादेश, जो फाइनल पुगिसकेको छ । नेपाललाई ८–० ले हराएको भारतलाई पहिलो खेलमै हराइसकेको छ । त्यति उच्च फर्ममा रहेको बंगलादेशलाई हराए पनि नेपाललाई फाइनल पुग्न सहज छैन ।
नेपालले बंगलादेशलाई हराए नेपालको ९ अंक हुनेछ । भारतले अन्तिम खेल माल्दिभ्ससँग खेल्दै छ । त्यस खेलमा माल्दिभ्सले भारतलाई हराए वा बराबरीमा रोके मात्र नेपाल फाइनल पुग्नेछ । माथि उल्लेख गरेजस्तो, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ यहाँ लागू हुने सम्भावना ज्यादै न्यून छ । किनभने, जारी प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म कुनै पनि खेल जितेको छैन ।
नेपालले बंगलादेशलाई हराए र भारतले माल्दिभ्सलाई हराएको अवस्थामा पनि भारत नै फाइनल पुग्नेछ । किनभने, आज भारतसँग व्यहोरेको ८–० गोलका कारण भारत गोलऔसतमा प्लस १० मा छ भने नेपाल माइनस १ मा छ । भारतलाई रोक्दै फाइनल पुग्ने आशामा रहेका नेपाली दर्शकका लागि ८–० को हार बिर्सनलायक विपन बन्यो ।
भारतसँग बिर्सनलायक भेट
सुझावित समाचार
इन्द्रजात्रा : वैदिक विज्ञानदेखि जीवन्त संस्कृतिसम्म
इन्द्रजात्रा पर्व प्राचीन वैदिक संस्कृति एउटा अत्यन्तै जीवन्त र प्रामाणिक रूप हो, जसले शास्त्रीय संस्कृत ज्योतिषीय ग्रन्थहरूदेखि लिएर न…
कप्तानगन्ज घटनाले जन्माएका प्रश्नहरू
१० साउन ०८३ मा सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा बोलबम यात्राको तयारीका क्रममा डिजेबाजा बजाउँदा सुरु …
प्रकृतिको उपेक्षित वरदान : किसानको साथी लाटोकोसेरो
प्रायः हामीमध्ये धेरैले रातको समयमा घरवरपरका रुखबाट हुँ...हुँ गरेको आवाज पक्कै सुनेका छाैँ । कतिपय अवस्थामा त अँध्यारोम…
पाठक टिप्पणी : आत्मपरीक्षणको समय
नेपाल फेरि एकपटक निर्णायक राजनीतिक मोडमा उभिएको छ । पछिल्लो चरणको जनआन्दोलनपछि सार्वजनिक रूपमा अभिव्यक्त भएको युवा पुस्ताको अस…
मानवजातिको नैतिक, आध्यात्मिक र सामाजिक पुनर्जागरणको उपाय गीता
श्रीमदभगवदगीता भगवान् श्रीकृष्णले गाउनुभएको हुनाले यसलाई गीता भनिन्छ। मार्गशीर्ष शुक्लपक्षको एकादशीको दिन अत्यन्त पवित्र मानिन्छ। कि…
हामो आदर्श, हाम्रो धरोहर
राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँ (पोष्टबहादुर बोगटी) को थियो र आफ्…