नेपाल फेरि एकपटक निर्णायक राजनीतिक मोडमा उभिएको छ । पछिल्लो चरणको जनआन्दोलनपछि सार्वजनिक रूपमा अभिव्यक्त भएको युवा पुस्ताको असन्तोष कुनै क्षणिक प्रतिक्रिया होइन, यो लामो समयदेखि सत्तामा बसेका राजनीतिक शक्तिप्रतिको गहिरो निराशाको परिणाम हो ।
भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राजनीतिमा नैतिक जिम्मेवारीको माग आज केवल नारामा सीमित छैन, यो राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ । तीन दशकभन्दा बढी समयदेखि मुलुकको शासनसत्तामा निर्णायक भूमिका खेलेका दलले जनताबाट बारम्बार अवसर पाए ।
तर, ती अवसरलाई संस्थागत सुधार, सुशासन र दीर्घकालीन विकासमा रूपान्तरण गर्न सकेनन् । चुनावअघि एक–अर्कालाई तीव्र आलोचना गर्ने दलहरू चुनावपछि सत्तासाझेदारीका लागि सहजै एक ठाउँमा उभिनु आज असम्भव रहेन । नीति, सिद्धान्त र प्रतिबद्धताभन्दा सत्ता गणित प्राथमिकतामा पर्दा लोकतन्त्र प्रक्रिया मात्र बाँकी रहँदै यसको आत्मा क्रमश: कमजोर हुँदै गएको छ ।
यसै सन्दर्भमा युवा पुस्ताले गम्भीर प्रश्न उठाइरहेको छ । सरकार फेरिँदा पनि शासन संस्कार किन फेरिँदैन ? नेतृत्व परिवर्तन हुँदासमेत भ्रष्टाचार, बेरोजगारी, वैदेशिक पलायन र संस्थागत अविश्वास किन झनै गहिरिँदै गएको छ ? स्पष्ट छ, समस्या सरकार परिवर्तन नहुनुको होइन, राजनीतिक संस्कृति परिवर्तन नहुनुको हो ।
राजनीतिलाई सेवाभन्दा सत्ता प्राप्तिको माध्यम बनाइँदा राज्य र नागरिकबिचको विश्वास कमजोर हुँदै जानु स्वाभाविक हो । आजको आवश्यकता सबै नेपालीले पार्टीभन्दा माथि उठेर देशबारे सोच्नु हो । मतभेद स्वाभाविक हुन्, विचार फरक–फरक हुन सक्छन्, तर देश सबैको साझा घर हो ।
हामी साँच्चै ‘वसुधैव कुटुम्बकम्’को मूल्यमा विश्वास गर्छौँ भने यो घरलाई लुट्ने प्रवृत्तिलाई होइन, सुधार गर्न खोज्ने प्रयासलाई अवसर दिनुपर्छ । यही आत्मपरीक्षण र सचेत निर्णयले मात्र नेपाललाई निराशाबाट आशातर्फ डोर्याउन सक्छ ।
धिताल, हाल बोस्टन, अमेरिकामा बसाेबास गर्छन् ।