अर्थ समितिका सभापति भन्छन्- जनप्रतिनिधिले ठेक्कापट्टा गर्न नपाउने कानुन बनाउनुपर्छ

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

संघीय संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नीतिगत भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिले ठेक्कापट्टा गर्न नपाउने कानुन बनाउनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘पूर्वाधार विकासको अवस्था र चुनौतीहरू’ विषयक छलफल कार्यक्रममा सभापति दाहालले एउटै व्यक्ति ठेक्कापट्टा र राजनीतिमा हुँदा नीतिगत भ्रष्टाचार हुने गरेको औँल्याएका हुन् ।

‘पालिकाको जनप्रतिनिधिले पालिकाभर, प्रदेशको सांसदले प्रदेशभर र संघीय सांसदले देशभर ठेक्कापट्टा गर्न नपाउने गरी कानुन निर्माण गर्नुपर्छ,’ उनले भने, ‘दुई चिज रोज्न पाइँदैन । राजनीति गर्ने हो भने सेवा मात्रै गर्नुपर्यो । व्यापारधन्दा गर्ने हो भने त्यही गरे भइहाल्यो ।’ 

कडा कानुनी व्यवस्था नभएसम्म नीतिगत भ्रष्टाचारको बाटो खुला भइरहने उनको भनाइ छ । बजेट अनुशासन गम्भीर ढंगले उल्लंघन भइरहेकोसमेत उनले बताए । ‘संघीय सरकारका मन्त्रालयहरूबाट पूर्वाधारको क्षेत्रमा स्थानीय तहको भन्दा पनि साना आयोजना हालिन्छ भने त्यसलाई के भन्ने ?’ उनले भने, ‘संघीय सरकारले गाउँपालिकाभन्दा तलका आयोजना पनि हाल्न थालेको छ । साना आयोजना पनि संघीय सरकारको मन्त्रालयहरूमा छ । यो पनि अन्त्य हुनुपर्छ । राष्ट्रिय योजना आयोगले यसमा कडाइ गर्नुपर्छ ।’

ठूला आयोजनाहरूको प्रगति न्यून रहेको पनि उनले बताए । ती आयोजनामा स्रोत पनि कम जाने गरेको उनले बताए । भुक्तानी प्रक्रियासमेत अपारदर्शी रहेको उनले औँल्याए । माघमा बिल पेस गरे पनि असारमा मात्रै भुक्तानी पाउने अवस्था विद्यमान रहेको उनको भनाइ छ । डिजिटल भुक्तानीको व्यवस्था भए समस्याको समाधान केही हदसम्म हुने उनको सुझाव छ । 

उनले केन्द्रले स्थानीय तहलाई दिने ससर्त अनुदान रोकिनुपर्नेसमेत बताए । ‘आयोजनाचाहिँ हाम्रो, अनुदान पनि हामी दिन्छौँ । तर, कामचाहिँ तिमी गर भनेर दिएको छ । त्यो रोकिनुपर्ने हो । अथवा ससर्त अनुदानको ग्राफ ओरालो झर्नुपर्ने हो । तर, आयोजना कम हुँदै जाने, ससर्त अनुदानको ग्राफ भने बढ्दै जाने गरेको छ । यो रोकिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले प्रोजेक्ट बैंकमार्फत आयोजनाको काम अगाडि बढाउन थालिएको बताए । समाजवादको जग बसाल्ने गरी योजना निर्माण भइरहेको उनको भनाइ छ । रुस–युक्रेन युद्धको असर अप्रत्यक्ष रूपमा देखापरेको पनि उनले बताए ।

सुझावित समाचार