पर्यटनमन्त्री श्रेष्ठ र मेयर बालेन्द्रबीच भेट

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेट भएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेट भएको हो । 

भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए । 
काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने आफ्नो योजना रेहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौंका स्थानीय सरकारहरूको सहयोग आवश्यक रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको मन्त्री श्रेष्ठले बताएको मन्त्रालयले जनाएको छ । 

महानगर प्रमुख शाहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न सहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुन सक्ने सहयोगबारे चासो राखेका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको शाहले बताए । 

परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उनको भनाइ थियो । यसमा अलावा भेटमा काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । 
 

सुझावित समाचार