विमानस्थल हुँदै यात्रुले ल्याएका ४८० केजी सुन राजस्वको दायरामा

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

आर्थिक वर्ष ०७८/७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएका करिब चार सय ८० केजी सुन तथा सुनका गहनालाई त्रिवि भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको छ।

प्रचलित बजार दरअनुसार करिब तीन अर्ब ८० करोड मूल्यबराबरको उक्त सुन विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूबाट राजस्व तिराउने प्रयोजनका लागि भन्सार कार्यालयले नियन्त्रणमा लिएको र नियमानुसार राजस्व दाखिला गरेपछि सम्बन्धित यात्रुलाई नै दिइएको हो। यसबाट कार्यालयले रु. ४५ करोड ५८ लाख अतिरिक्त राजस्व संकलन गरेको छ। राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ।

देशको अर्थतन्त्रका लागि अनौपचारिक बजार राम्रो मानिँदैन। व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरिरहेको हुन्छ। विस्तृत अध्ययन नभए पनि विज्ञहरूले नेपालमा करिब ४० प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको बताउँदै आएका छन्।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम सय ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्। त्यसैगरी सुनको गहनाको हकमा अधिकतम दुई सय ५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ, जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सोभन्दा बढी दुई सय ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ। सय ग्रामभन्दा बढी काँचो सून र दुई सय ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सून तथा सुनका गहना जफत गरी भन्सार कानुनबमोजिम कारबाही गर्ने व्यवस्था छ। नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सुन यात्रुले आफ्नो साथमा ल्याउन पाउने व्यवस्था भए पनि व्यावसायिक प्रयोजनका लागि भने वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउँछन्।

यसक्रममा पहिलो दिनमा नै कार्यालयले चार सय १५ जना यात्रुबाट झन्डै २१ केजी सुन नियन्त्रणमा लिन सफल भएको थियो । हालका पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सूनको परिमाण निकै घट्दै गएको छ। कार्यालयको अभिलेखअनुसार गत असार महिनामा दैनिक औसत ३० यात्रुबाट जम्मा एक केजी पाँच सय ग्रामको हाराहारीमा सुन तथा सुनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर सम्बन्धित यात्रुलाई फिर्ता गरेको थियो।

सुझावित समाचार