कोरोना संक्रमण बढेको बढ्यै : ७१ प्रतिशत सक्रिय संक्रमित उपत्यकामा

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

ओमिक्रोनको सबभेरियन्ट बिए फाइभ देखिएपछि नेपालमा बढ्न थालेको कोरोना संक्रमण हरेक दिन उकालो लागिरहेको छ । गत शनिबार (२५ असार) देखि तीन अंकमा उक्लिएको संक्रमण निरन्तर बढेको छ । संक्रमणदर पनि बढेको छ ।

शनिबार एक सय दुईजनामा संक्रमण देखिँदा संक्रमणदर ३.९० प्रतिशत थियो । पाँच दिनपछि दुई सय ६० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमणदर ६.७६ प्रतिशत पुगेको छ । पाँच दिनमा दैनिक संक्रमण दोब्बरभन्दा धेरैले बढ्दा संक्रमणदर पनि झन्डै दोब्बर देखिएको छ । संक्रमणदर बढे पनि मृत्युदर भने शून्यमै छ । बिहीबार ४८ संक्रमित संक्रमणमुक्त भएका छन् । 

त्रिवि शिक्षण अस्पतालका डा. नीरज बम संक्रमण बढे पनि संक्रमितमा जटिल स्वास्थ्य समस्या नदेखिएको बताउँछन् । ‘संक्रमण बढे पनि गम्भीर बिरामी अस्पतालमा छैनन् । अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो, शरीर दुखाइजस्ता समस्या छन्,’ उनले भने, ‘आइसियूमा राखिएका बिरामीमा पनि गम्भीर समस्या छैन ।’ 

संक्रमितको ठूलो हिस्सा काठमाडौंकै छ । हाल सक्रिय संक्रमितमध्ये ७१ प्रतिशत काठमाडौं उपत्यकाका छन् । बिहीबारसम्म एक हजार एक सय ७१ सक्रिय संक्रमितमध्ये आठ सय ३१ अर्थात् ७१ प्रतिशत उपत्यकाका हुन् । उपत्यकामा पनि काठमाडौं जिल्लामा संक्रमण उच्च छ । बिहीबार थपिएका नयाँ संक्रमितमध्ये एक सय ३७ अर्थात् ५२ प्रतिशत काठमाडौं जिल्लाका मात्रै छन् । बुधबार कुल संक्रमित दुई सय ६ रहेकोमा काठमाडौंमा सय संक्रमित थिए । मंगलबार एक सय ७७ कुल संक्रमित रहेकामा काठमाडौंका ९० थिए । त्यस्तै, सोमबार कुल एक सय ६६ मा ८२ संक्रमित काठमाडौं जिल्लाका थिए । 

देशभर कोरोनाविरुद्धको खोप सबै उमेर समूहमा प्रयोग हुँदै आएको छ । बुधबार ७२ हजार तीन सय २० डोज खोप प्रयोग भएको छ । योसँगै हालसम्म चार करोड ७५ लाख ३५ हजार तीन सय ७८ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्याको ६९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । तर, विश्वभर नै पुनः अस्पताल भर्नादर बढ्दै गएकाले विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

डब्लुएचओले भन्यो– पछिल्ला १५ दिनमा विश्वभर भएको संक्रमणको ३० प्रतिशत बिए फाइभबाट 
विश्व स्वास्थ्य संगठनले पछिल्ला १५ दिनमा विश्वभर भएको संक्रमणको ३० प्रतिशत ओमिक्रोनको बिए फाइभ सबभेरियन्टले ओगटेको जनाएको छ । अमेरिकामा मात्रै यो दर उच्च रहेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हाल कुल दैनिक संक्रमणको ६५ प्रतिशत संक्रमण बिए फाइभको छ । यसले अर्को लहरको संकेत गरेको छ ।

युरोपमा कुल संक्रमणको २५ प्रतिशत ओमिक्रोनको सबभेरियन्टबाट भएको छ । युरोपका लागि डब्लुएचओका स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन्, ‘परीक्षण लगभग शून्यमा रहेका कारण यो संख्या अझ धेरै हुन सक्छ ।’ 

त्यस्तै, चीनमा लकडाउन हटाइएका विभिन्न सहरमा पुनः लकडाउन गर्नुपर्ने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यहाँ मार्चदेखि बिए फाइभ फैलिएको छ । 

डब्लुएचओको आपत्कालीन समितिले मंगलबारको ब्रिफिङमा निष्कर्ष निकालेको छ– कोभिड अन्तर्राष्ट्रियस्तरमै सार्वजनिक स्वास्थ्यमा चिन्ताको विषय बनेको छ । कोभिड संक्रमण बढ्दै गएपछि पहिलोपटक डब्लुएचओले उच्चतम स्तरको सतर्कताका लागि २० जनवरी २०२० मा स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

See More On

सुझावित समाचार