आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मानभाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नास गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
अन्धकारको नास गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।
मातापिताजस्तै गुरुलाई पनि देवतासमान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
व्यासजयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन् –
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।