नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी समन्वय विभागका मन्त्री (प्रमुख) लिउ जियान्चाओले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा दिवाभोजसहित भएको करिब चार घन्टा लामो शिष्टाचार वार्तामा चिनियाँ नेताले जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादको पनि चर्चा गरे।
अध्यक्ष ओलीले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका थिए। दुई देशबीच विगतमा भएका सबै सम्झौता र सहमति कार्यान्वयन हुनुपर्ने ओलीको भनाइ थियो। ‘दुई देश र दुई पार्टीबीच सम्बन्धका सबै पक्षमा छलफल भयो। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हामी गर्दैनौँ, नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि हाम्रो सहकार्य रहन्छ, तपाईंहरूको आन्तरिक राजनीतिक घटनाक्रमहरूमा हामी केही भन्दैनौँ भन्ने उहाँहरूको जोड थियो,’ भेटमा सहभागी एमाले नेता डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने।
भट्टराईका अनुसार अध्यक्ष ओलीले बिआरआई कार्यान्वयनमा विलम्ब भएकोमा तत्कालै टुंग्याएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। ओलीले सीमानाका निर्वाध रपमा सञ्चालन, नेपाली विद्यार्थीलाई चीन फिर्ता लैजानुपर्नेलगायतका विषयमा चासो राखेका थिए। ‘चिनियाँ नेताले विशेषगरी नेपालको परिस्थितिबारे जानकारी लिन र नेताहरूसँग छलफल गर्न हामी आएका हौँ भन्नुभयो। समग्रमा सकारात्मक छलफल भयो,’ भट्टराईले भने।