प्रधानमन्त्रीलाई एमाले सचिव भट्टराईको प्रश्न : चीनसँग मात्र ऋण नलिने यो सरकारको नीति हो ?

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल भूराजनीतिक द्वन्द्वबाट टाढै रहनुपर्ने बताएका छन्। नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउ जियान्चाओसँगको भेटमा प्रधानमन्त्री देउवाले चीनबाट ऋण नलिने, अनुदान मात्र लिने बताएका विषयमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

देउवाको पछिल्लो एक वर्षको कार्यकालमा सरकारले कुनै  मुलुक र निकायबाट ऋण लिएको छ कि छैन भन्दै उनले लिएको भए चीनसँग मात्र ऋण नलिने सरकारी नीति हो ? भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।

कसैसँग ऋण नलिएरै देश बनाउने कुरा राम्रो भए पनि आफू त्यो अवस्थामा छौँ कि छैनौँ बुझेर यथार्थको धरातलमा रहनुपर्ने उनको तर्क छ।

यस्ता छन् प्रधानमन्त्री देउवालाई भट्टराईका चार प्रश्न :

१. के अब नेपालले कुनै पनि मुलुक र अन्तर्राष्ट्रिय वित्तीय निकायबाट ऋण नलिने नीति लिएको हो ? हो भने यो नीति सरकारले हालै संसदमा पेस गरेको नीति तथा कार्यक्रममा किन नलेखेको ? यो नीति मन्त्रिपरिषद्ले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ? 

२. २०७८ असार २९ गते प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाको गएको एक वर्षको कार्यकालमा कुनै मुलुक र निकायबाट ऋण लिएको छ कि छैन ? लिएको भए चीनसँग मात्र ऋण नलिने नीति हो यो सरकारको ?

३. आजसम्म नेपालले  लिएको अन्तर्राष्ट्रिय ऋणको अवस्था अब के हुन्छ ? ब्याज तिर्नुपर्दैन कि ? सबै अनुदानमा परिणत हुन्छन् कि ? सरकारले स्पष्ट पार्नुपर्दछ।

४. सरकारले समान विषयमा मुलुकैपिच्छे अलगअलग नीति लिन मिल्छ ? कि राष्ट्रिय हित, असंलग्न र पञ्चशील र पारस्परिक लाभका आधारमा वैदेशिक सम्बन्ध कायम गर्ने होइन र ?

सुझावित समाचार