चालू आर्थिक वर्षको मौद्रिक नीति सेयर लगानीकर्ताका लागि सुखदायी बन्न नसकेको लगानीकर्ता बताउँछन् । ३२ सय बिन्दुको नजिक पुगेको नेप्से परिसूचक नियामक निकायको नीतिकै कारण घटेर १८ सयको बिन्दुमा झर्न पुगेको उनीहरूको जिकिर छ । अहिले राष्ट्र बैंक आगामी आर्थिक वर्ष ०७९÷८० का लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । बैंकले त्यसका लागि राय–सुझाव दिनका लागि सार्वजनिक अपिलसमेत गरेको छ ।
सोही कारण लगानीकर्ता अहिले सेयर बजारअनुकूल नभएका नीतिहरू हटाउन माग गर्दै राष्ट्र बैंक धाइरहेका छन् । मुख्य गरी चालू आर्थिक वर्षमा आएको मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट बढीमा चार करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँबराबरको मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
लगानीकर्ता नियामक निकायदेखि प्रधानमन्त्री र विभिन्न पहुँचवाला नेतालाई भेटेर आफ्ना माग सम्बोधन गराउन प्रयत्नशील छन् । लगानीकर्ताले यही नीतिलाई मुख्य एजेन्डा बनाउँदै आएका छन् । गत २ भदौमा ३२ सय पुगेको नेप्से सूचक १० महिनामा गत शुक्रबारसम्म आइपुग्दा १२ सय ६८ अंकको गिरावट भएको छ । करिब ४० प्रतिशतसम्मले बजार घट्दा यसबीचमा बजारमा उत्तारचढावहरू नआएका भने होइनन् ।
बैंकमा देखिएको बढ्दो तरलताको अवस्था, रुस र युक्रेनले पारेको मूल्यवृद्धि र राजनीतिक कारण पनि यसको मुख्य कारण बन्न पुगेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । अहिले पनि नेप्से सूचक घट्दो क्रममा देखिन्छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले समेत सेयर धितो कर्जा नीतिकै कारण बजारमा गिरावट आएको एक पत्रकार सम्मेलनमा बताए ।
लगानीकर्ताको समस्या समाधान गर्न अर्थ मन्त्रालयले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वको पाँच सदस्य सुझाव समितिसमेत गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव, बोर्डका पदाधिकारी र राष्ट्र बैंकका पदाधिकारीसमेत रहेका छन् । लगानीकर्ताले सुझाव समितिलाई गएको हप्ता १८ बुँदे मागसहित सुझावसमेत दिएका थिए ।
