सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश जान रोक लगाउँदा जोखिम झन् बढ्यो

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

सरकारले घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध गरेका कारण नेपाली महिला झनै जोखिममा परेका छन् । औपचारिक बाटो बन्द भएपछि दलालहरूले अनौपचारिक बाटो हुँदै महिलालाई विदेश पर्‍याउने हुँदा महिलाहरू आर्थिक, मानसिक र शारीरिक रूपमा शोषणमा पर्र्दै आएका छन् । श्रम मन्त्रालयका अनुसार खाडी तथा मलेसियामा जाने महिला कामदारमध्ये अनौपचारिक  माध्यमबाट जाने ९० प्रतिशत छन् ।

मन्त्रालयको अनौपचारिक तथ्यांकअनुसार अवैधानिक बाटो हुँदै खाडी जाने महिलाको संख्या तीनदेखि चार लाख छ । यस्ता कामदारले शीघ्र उद्धार, क्षतिपूर्ति, कल्याणकारी कोष तथा बिमा सुविधा प्राप्त गर्न सक्दैनन् । सरकाले महिलालाई अझै पनि परजीवी मानेका कारण अनौपचारिक बाटो रोज्न बाध्य भएको आप्रवासी महिला कामदार समूहकी अध्यक्ष विजया श्रेष्ठ राईले बताइन् । विदेशी मुलुकमा नेपाली महिला कामदार हिंसामा पर्छन् भन्ने अनुमानका आधारमा सरकारले प्रतिबन्ध लगाएको उनको भनाइ छ । अपवादका घटनालाई लिएर महिलालाई घरेलु कामदारमा विदेश जान रोक लगाउनु सरकारको अपरिपक्व निर्णय भएको श्रमविज्ञ सरू जोशी बताउँछिन् । ‘यदि समस्या छ भने समाधान पनि छ । त्यसैले सरकारले समस्याको खोजी गर्नुपर्छ,’ उनले भनिन् । 

सरकारको नीति–निर्माण तहमा पुरुषहरू हाबी भएका कारण पनि महिलाको रोजगारी प्राथमिकतामा नपरेको पौरखी नेपालकी संस्थापक मञ्जु गुरुङको गुनासो छ । ‘पुरुषहरू औपचारिकताका लागि महिलाका समस्याका बारेमा चर्चा मात्रै गर्छन् । तर, समाधान भने गर्दैनन्,’ उनले भनिन् ।   घरेलु कामदारका रूपमा महिला वैदेशिक रोजगारीमा जाने विषय ६५ वर्षमा पनि सुल्झिएको छैन । ०१४ सालमा महिला वैदेशिक रोजगारीमा जाँदा संरक्षकको सहमति आवश्यक पर्ने सरकारले व्यवस्था गरेको थियो । त्यतिवेला परिवारका पुरुष संरक्षक बसे मात्रै महिलाले विदेश जान पाउँथे । ०५५ सालमा वैदेशिक रोजगारीमा जान सरकारको स्वीकृति अनिवार्य गर्‍यो । तर, खाडी मुलुकहरूमा पूर्ण प्रतिबन्ध लगायो । ०५९ सालमा आएर आंशिक फुकुवा गरियो र औपचारिक क्षेत्रमा जान खुला गरियो । 

०६५ सालमा खाडी मुलुकहरू र मलेसियामा महिला कामदारहरू जान प्रतिबन्ध नै लगाइयो । ०६६ सालमा फेरि महिला कामदारलाई घरेलु कामका लागि लेबनान जान रोक लगाइयो । ०६७ सालमा संरक्षणसम्बन्धी नयाँ व्यवस्थासहित महिला कामदारलाई खाडी मुलुक र मलेसिया जान लगाइएको प्रतिबन्ध फुकुवा गरियो । तर, ०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाइयो । सो उमेरका महिला परिपक्

नहुने भन्दै सरकारले रोक लगाएको थियो । त्यस्तै, ०७१ सालमा भिसा प्राप्त गरिसकेका बाहेक अन्य सबैलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाइयो । ०७२ सालमा संरक्षक सम्बन्धित नयाँ व्यवस्थासहित घरेलु कामदारका रूपमा विदेश जान महिला कामदारलाई लगाइएको प्रतिबन्ध फुकुवा गरी २४ वर्षको बन्देज लगाइयो ।  

०७४ सालमा घरेलु कामदारका रूपमा खाडी मुलुकहरू जान महिलालाई प्रतिबन्ध लगाइयो । ०७७ सालमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न सुझाव दियो । तर, ०७८ सालमा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जान घरेलु कामदारलाई फुकुवा गरियो । तर, विदेश फर्कन सुनिश्चित नभएका महिला कामदार वर्षौँदेखि आफ्ना परिवारसँग भेट गर्न भने पाएका छैनन् । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले भने घरेलु महिला कामदारका विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव लिइरहेको बताए । ‘यस विषयमा हामी निरन्तर छलफल गरेका छौँ । तर, तत्काल महिलालाई घरेलु कामदारमा जान भने खुला गर्नेछैनौँ,’ उनले भने । 

सुझावित समाचार