साढे पाँच अर्ब लगानीमा १० चामल उद्योग खुल्दै

धान नपाएर पुराना स्थापित चामल मिल धमाधम बन्द भइरहेका वेला अर्बौँ लगानीमा खुल्न लागेका चामल उद्योगले आत्मनिर्भर बनाउने अपेक्षा

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
साढे पाँच अर्ब लगानीमा १० चामल उद्योग खुल्दै

बुद्ध एयरले मोरङको बेलबारी– ९ मा सञ्चालनमा ल्याउन लागेको आरजु राइस मिल

कुनै समय बाँके, बर्दिया र कैलाली धान उत्पादनमा देशकै अग्रणी मानिन्थे । महाकाली राइस मिल, टन्डन राइस मिल, कर्णाली राइस मिलजस्ता ठुल्ठूला चामल मिलहरू सोही क्षेत्रमा सञ्चालनमा थिए । यस्तै, पूर्वको झापा, मोरङ, सुनसरीमा खुलेका ठुल्ठूला चामल मिलबाट देशभित्र खपत भएर बढी भएको धानचामल भारतको कोचिनसम्म निर्यात हुन्थ्यो । एक समय देशको व्यापार सन्तुलनको ठूलो स्रोत नै धान चामलको निर्यात मानिन्थ्यो । तीन दशकअघि पञ्चायतकालसम्म पनि नेपालबाट करोडौँ मूल्यबराबरको धान–चामल निर्यात हुने गरेको नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

तर, अहिले अवस्था फेरिएको छ । किसानहरू धान खेतीबाट पलायन हुदै जाँदा देश चामलमा परनिर्भर बनेको छ । नेपालबाट जुन देशमा धान–चामल निर्यात हुन्थ्यो, त्यही देशबाट अर्बौँ रुपैयाँको धान–चामल आयात गरेर उपभोग गर्न थालिएको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामै भारतबाट ४२ अर्ब रुपैयाँको धान–चामल आयात भएको छ । देशभित्र उत्पादित धानले चामल उद्योग तीन महिना पनि चल्न नसक्ने अवस्था सिर्जना भएपछि भारतबाट धान आयात गरेर मिल चलाउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् । कच्चा पदार्थको अभाव, उत्पादन लागत, सरकारी प्रोत्साहन नहुनु, तयारी चामल आयातमा कम ड्युटीलगायत कारणले स्वदेशी चामल उद्योग धमाधम बन्द भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका खाद्यान्न उद्योगी गुप्ताले बताए । अहिले धेरै चामल मिलले भारतबाट धान आयात गरेर कुटानी गर्दै आइरहेका छन् । 

देशभित्र रहेका ठूला–साना करिब तीन हजार चामल उद्योगमध्ये अधिकांश रुग्ण अवस्थामा रहेको र बन्द हुने क्रम पनि जारी नै रहेको गुप्ताको भनाइ छ । एकातिर पुराना स्थापित चामल उद्योग बन्द भइरहेको छन् भने अर्कोतिर धमाधम नयाँ चामल उद्योग सञ्चालनका लागि दर्ता भइरहेका छन् । चालू आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा चामल उद्योग सञ्चालन गर्न नौवटा चामल मिल उद्योग विभागमा दर्ता भएका छन् । जसमा पाँच अर्ब २१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ । 

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पुख्र्यौली थलो मोरङको बेलबारी– ९ मा ४० करोड रुपैयाँ लगानी गरेर अत्याधुनिक चामल उद्योग सञ्चालन गर्दै छन् । आरजु राइस मिलमा अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ । यो उद्योग आगामी हिउँददेखि सञ्चालनमा ल्याउने उनले बताए । उद्योगले धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३० रुपैयाँ तोकेर किसानसँग धान खरिद गर्न सुरु गरिसकेको छ । दुई दशकदेखि कृषिमा यान्त्रिकीकरणमार्फत कृषकलाई धानखेतीमा हौसाइरहेका उनले चामल मिल खोलेर व्यावसायिक सम्भावना देखाउन लागेका हुन् । ‘हामीले मोरङको डाँगीहाटमा नमुना प्रोजेक्ट सञ्चालन गर्दै छौँ’ उनले भने, ‘सप्तरी र सिराहासम्म स्थानीय र किसानहरूलाई साझेदार बनाएर १० वटा चामल उद्योग खोल्ने योजना छ ।’ आरजु राइस मिलले चैते र अगनी गरी वार्षिक २० हजार मेट्रिकटन धान र १० हजार मेट्रिकटन मकै अटाउने भण्डारगृह बनाइरहेको छ । यो मिलको उत्पादन क्षमता भने प्रतिघन्टा चार टन रहनेछ ।

पोखराबाट उदाएको लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राम नगरपालिका– १३ मा उद्योग सञ्चालन गर्ने गरी सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता गरिसकेको छ । १९ साउन ०७८ मा दर्ता गरिएको उद्योगमा एक अर्ब १३ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । दुई २४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको उद्योग सञ्चालनका लागि दुई हजार केभिए विद्युत् लाइन आवश्यक पर्नेछ । यो उद्योगले वार्षिक ३३ हजार ८४० मेट्रिकटन चामल, बाइप्रडक्टका रूपमा १० हजार आठ सय मेट्रिकटन कनिका, सात हजार नौ सय २० मेट्रिकटन ब्रान, दुई हजार १६० मेट्रिकटन रिजेक्टेड राइसलगायत उत्पादन गर्नेछ । 

यसै वर्ष पर्साको वीरगन्ज महानगरपालिका– ३२ मा चामल उद्योग स्थापना गर्ने गरी उद्योग विभागमा त्रिवेणी राइस इन्डस्ट्रिज प्रालि दर्ता भएको छ । यो उद्योगमा ४८ करोड लगानी र ८८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ । एक हजार केभिए विद्युत् लाइन आवश्यक पर्ने उद्योगबाट वार्षिक ३० हजार मेट्रिकटन चामल र बाइप्रडक्टका रूपमा सात हजार दुई सय मेट्रिकटन कनिका, चार हजार दुई सय मेट्रिकटन ब्रान र सात हजार पाँच सय ६० मेट्रिकटन भुस उत्पादन हुनेछ ।

यस्तै, मोरङको बुढीगंगा नगरपालिका– ५ मा ३६ करोड ३० लाख रुपैयाँ लगानीमा स्वस्तिक राइस एन्ड दाल मिल खुल्ने भएको छ । यो उद्योगबाट वार्षिक १८ हजार नौ सय ५१ मेट्रिकटन चामल, बाइप्रडक्टका रूपमा ६ हजार ४८ मेट्रिकटन कनिका, चार हजार चार सय ३५ मेट्रिकटन ब्रान, १२ सय १० मेट्रिकटन रिजेक्टेड चामल र आठ हजार चार सय ६७ मेट्रिकटन भुस उत्पादन हुनेछ ।

बारको जितपुर उपमहानगर– ८ मा ३० करोड लगानीमा खुल्न लागेको आरएमसी फुड्स प्रालिले वार्षिक ३० हजार मेट्रिकटन चामल उत्पादन गर्ने भएको छ । यस्तै, बाइप्रडक्टका रूपमा १० हजार मेट्रिकटन कनिका, आठ हजार मेट्रिकटन ब्रान, १५ हजार मेट्रिकटन भुस उत्पादन हुने कम्पनीले जनाएको छ । यो उद्योग सञ्चालनमा आउँदा ८० जनाले रोजगारी पाउनेछन् भने १५ सय केभिए क्षमताको विद्युत् लाइन आवश्यक पर्नेछ । पर्साकै वीरगन्ज– २१ मा २४ करोड लगानीमा मोर नेचुरल फुड्स प्रालि खुल्ने भएको छ । यो उद्योगबाट वार्षिक १५ हजार मेट्रिकटन चामल, आठ सय ३० मेट्रिकटन कनिका, १५ सय मेट्रिकटन ब्रान, पाँच हजार ४५५ मेट्रिकटन भुस उत्पादन हुने बताइएको छ । यो उद्योग सञ्चालनमा आउन एक हजार केभिए क्षमताको विद्युत् लाइन चाहिन्छ भने सयजनाले रोजगारी पाउनेछन् । 

नवलपरासीको रामग्राममा उद्योग खोल्ने गरी उद्योग विभागमा अग्नि एग्रो फुड प्रोडक्टस प्रालि दर्ता भएको छ । ७६ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको यो उद्योग सञ्चालनमा आउँदा ४२ जनाले रोजगारी पाउनेछन् । यो उद्योगबाट वार्षिक ४३ हजार दुई सय मेट्रिकटन चामल, चार हजार तीन सय २० मेट्रिकटन कनिका, सात हजार दुई सय मेट्रिकटन ब्रान र १५ हजार मेट्रिकटन भुस उत्पादन हुने बताइएको छ । पर्साको वीरगन्ज– २२ मा खोल्न लागिएको महावीर एग्रो प्रडक्ट प्रालिमा ६२ करोड लगानी गर्ने प्रस्ताव गरिएको छ । सयजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको उद्योगबाट वार्षिक ७७ हजार मेट्रिकटन चामल उत्पादन गर्नेछ । यो उद्योग सञ्चालनका लागि १५ सय केभिएको विद्युत् लाइन आवश्यक पर्ने प्रस्तावमा उल्लेख छ ।

यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकामा ५५ करोड ६० लाख रुपैयाँमा सरोबर एग्रो इन्डस्ट्रिज सञ्चालनमा आउने भएको छ । यो उद्योगले वार्षिक ४३ हजार दुई सय मेट्रिकटन चामल, चार हजार ३२० मेट्रिकटन कनिका, सात हजार दुई सय मेट्रिकटन ब्रान र १५ हजार मेट्रिकटन भुस उत्पादन गर्ने प्रस्ताव गरेको छ । यो उद्योग सञ्चालनमा आउँदा ४४ जनाले रोजगारी पाउनेछन् । कपिलवस्तुको बाणगंगामा ७६ करोड रुपैयाँ लगानीमा महालक्ष्मी मल्टिएग्रो इन्डस्ट्रिज सञ्चालन गर्न उद्योग विभागमा मिल दर्ता गरिएको छ । यो उद्योगबाट २६ हजार मेट्रिकटन चामल, १८ सय २५ मेट्रिकटन कनिका, ३३ सय मेट्रिकटन ब्रान, ७५ सय मेट्रिकटन भुस उत्पादन गर्ने जनाएको छ । एक सय पाँचजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको उद्योगले एक हजार केभिए क्षमताको विद्युत् लाइन मागेको छ । 

यसैगरी, नवलपरासीको सरावलमा एक अर्ब लगानीमा तिरुपति बालाजी एग्रो प्रालि सञ्चालनमा आइसकेको छ । स्थानीय व्यवसायी गुणनिधि तिवारी, प्रकाश यादव, शम्भु अग्रवाल र भुवनेश्वर अग्रवालको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योगबाट चार प्रकारको चामल उत्पादन भइरहेको छ । यो उद्योगले भारतबाट धान आयात गरेर कुटपिस गरी चामल उत्पादन गर्दै आइरहेको छ ।

बर्सेनि बढ्दै धान–चामल आयात
नेपालमा बर्सेनि धान–चामल आयात बढ्दै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । विगत ६ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब ६० करोडको धान–चामल आयात भएकोमा चालू आवको १० महिनामा ४२ अर्बभन्दा बढीको धानचामल आयात भएको छ । गत आर्थिक वर्षभरिमा भारतबाट ५० अर्ब ४७ करोड मूल्यबराबरको धान–चामल आयात भएको राष्ट्र बैंकको तथ्यांक छ । यो वर्ष पनि धान–चामल आयातको आकार ५० अर्ब नाघ्ने अनुमान गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा २८ अर्ब ९१ करोडको धान–चामल आयात भएको थियो भने २०७५/७६ मा ३२ अर्ब २१ करोड र २०७६/७७ मा ३३ अर्ब ३५ करोड रुपैयाँको धानचामल आयात भएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकले बर्सेनि धानचामल आयात बढ्दै गइरहेको र भोलिका दिनमा अवस्था झन् भयानक बन्ने देखाउँछ । नेपालमा उत्पादन भएको चामल भनिए पनि भारतबाट धान खरिद गरेर ल्याइएको हो । नेपालमा उत्पादित धानले चामल मिल तीन महिना पनि चल्न नसक्ने उद्योगी नै बताउँछन् । 

सुझावित समाचार