तामाङ समुदायको जीवन्त संग्रहालय बन्दै रोसीकाे ‘डम्फु पार्क’

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण
तामाङ समुदायको जीवन्त संग्रहालय बन्दै रोसीकाे ‘डम्फु पार्क’

प्रतिकात्मक तस्बिर

तलतिर कलकल बग्ने रोसी खोला, त्यसको किनारैकिनार नागबेली भएर बनेको बिपी राजमार्ग । अनि त्यसको ठीक माथि उभिरहेको मिन्दुपा, छहरे र सोरेडाँडा । त्यसैको फेदमा निर्माण भइरहेको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक ‘डम्फु’ पार्कले सबैको मन तानिरहेको छ । 

आसपासको समुदायका मानिस हुन् या बिपी राजमार्ग भएर यात्रारत मानिस । ठूलो र अग्लो आकृतिमा ठडिँदै गरेको डम्फु पार्कको निर्माणाधीन अवस्थामा चक्रझैँ ठडिएको डम्फु आकृतिको संरचनामा जोकोहीको पनि आँखा टक्क अडिने गर्छ । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका– ११ कालढुंगास्थित सोरेडाँडाको फेदी भएर बगिरहेको भ्याकुरे खोलाछेउमा रोसी खोलाको माथि र बिपी राजमार्गको छेवैमा निर्माण भइरहेको ‘डम्फु’को संरचना तामाङ समुदायको सांस्कृतिक बाजा हो । जसलाई सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न रोसी गाउँपालिकाको सक्रियतामा डिपिआर (विस्तृत परियोजना  प्रतिवेदन) तयार गरी राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा करिब रु. ११ करोडको लागतमा अहिले निर्माणको चरणमा रहेको छ ।

सो पार्कको संरचना निर्माणका लागि जगबाट माथि उठेर अहिले फलामे रिङको संरचनामा डम्फु आकृति निर्माण हुँदै छ । निर्माण कम्पनीका कृष्णहरि आचार्यका अनुसार सो डम्फुको क्षेत्रफल तीस फिट अग्लो र तीस फिट चौडाइको छ । पहिलो चरणमा एक करोड ५० लाखमा जग निर्माण भइसकेपछि अहिले दोस्रो चरणमा डम्फु स्तम्भ निर्माण भइरहेको हो । निर्माण व्यवसायी आचार्यका अनुसार निर्माण भइरहेको डम्फु स्तम्भ एक करोड २२ लाखमा ठेक्का सम्झौता भएर काम भइरहेको छ । दैनिक १५ जना जनशक्ति खटिरहेकोमा यही असार मसान्तभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । उनका अनुसार अब आठ करोडको ठेक्का सम्झौता गर्न बाँकी रहेकोमा त्यसबाट एउटा पुस्तकालय भवन र तामाङ संग्रहालय निर्माण हुनेछ । तामाङ जीवन्त संग्रहालय निर्माणसँगै उद्यानसमेत बन्नेछ ।

स्थानीय चन्द्र लामाले तामाङबस्ती रहेको यहाँ निर्माणाधीन संग्रहालयमा आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको आर्थिक  विकासमा टेवा पुर्याउने  विचार व्यक्त गरे। पार्कसँगै संग्रहालय निर्माण भएपछि तामाङ संस्कृतिबारे अध्ययन गर्ने स्थल र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको भनाइ छ । बिपी राजमार्ग भएर यात्रा गर्नेका लागि लामो दूरीको यात्रापश्चात् बीचमा आराम गरेर बस्ने उपयुक्त ठाउँ कालढुंगा भएको र सो क्षेत्रमा सार्वजनिक जग्गा पनि भएकाले यो संग्रहालय निर्माणको परिकल्पना गरेको रोसी गाउँपालिका– ११ का निवर्तमान वडाध्यक्ष मिलन लामाले बताए । यो संरचना बनेपछि पर्यटकको चहलपहल हुने उनको विश्वास छ । गाउँपालिकाले संग्रहालयलाई बहुउपयोगी बनाउने गरी निर्माण कार्य अगाडि बढेको छ । गाउँपालिकाको पहलमा वडा नं. ११ मा ६० रोपनी जग्गा व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढेको जानकारी दिएको छ । 

वरिपरि बुद्धचित्त मालाको बिरुवा, फूल रोपेर संग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना  छ । तामाङ समुदायको बाहुल्य रहेको रोसी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि यो संरचना निर्माण थालनी गरिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मरणसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले संग्रहालयको नामकरण यसैबाट राखिएको निवर्तमान अध्यक्ष दलबहादुर लामाले बताए । रासस

सुझावित समाचार