सोमबार रातिदेखि परेको भारी वर्षाले झापाका साना–ठूला नदीको बहाब बढेको छ । अधिकांश क्षेत्र ढुबानमा परेका छन् । केही नदीले बस्तीसमेत घेरेका छन् । नदीले निरन्तर कटान गरिरहेको छ । केही घर विस्थापित भएको रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार गौरीगन्ज– १ मा चार घर विस्थापित भएका छन् । गौरादह– ४ र ५ को बीचमा पर्ने टङ्वामा ५० घर डुबानमाा परेको उनले बताए । यस्तै, भद्रपुर– ८ मा २५ घरपरिवार विस्थापित भएका छन् । शिवसताक्षी– ६ मा ४० घर डुबानमा परेको ढकालले जानकारी दिए । यस्तै, प्रत्येक वर्ष बाढीको समस्या झेल्दै आएको झापा गाउँपालिका– १ मिलन बस्तीमा यसपटक पनि कन्काई माईको पानी पसेको छ । यहाँका ९० घरमा पानी पसेको उनले बताए ।
गौरादह– ६ स्थित तेलियाडाँगी टापुमा परिणत भएको ढकालले जानकारी दिए । उक्त गाउँमा दुईतिरबाट रतुवा नदी बगेको छ । ‘गाउँमा पुग्न सक्ने अवस्था छैन । हामीले प्रशासनलाई खबर गरेका छौँ,’ उनले भने, ‘गाउँमा दुईतर्फबाट खोला बग्दा टपुमा परिणत भएको छ ।’
जिल्ला प्रशासन कार्यालय झापाले उद्धारका लागि सुरक्षाकर्मी तैनाथ राखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कतिपय स्थानमा नदी कटानको सूचना आएको र त्यसतर्फ सुरक्षाकर्मी पठाएको जानकारी दिए ।