‘न्युड आर्ट’ भन्नेबित्तिकै आममानिसको मस्तिष्कमा अलि फरक दृश्य आउँछ । ‘न्युड’ आर्ट गरेर के हुन्छ ? यो जिज्ञासा धेरैमा हुन सक्छ । तर, न्युड आर्ट नग्नता प्रर्दशन नभएर कला हो । अझ यो त प्राकृतिक अवस्था देखाउने एउटा महत्वपूर्ण माध्यम हो । यसले मानिसका भित्री भावलाई कलामा उतार्छ ।
केही समयअघिसम्म नेपालमा ‘न्युड आर्ट’ गर्नु निकै चुनौतीपूर्ण थियो । अहिले बिस्तारै चेतनास्तरको विकास हुँदै गएको छ । ‘न्युड पेन्टिङ’ भनेको नराम्रो मात्रै होइन रहेछ भन्ने बुझाइ बढ्दै गएको छ ।
सन् २००९ मा एक चित्रकला प्रदर्शनीबाट मेरो पेन्टिङलाई निकाल्न खोजियो । मैले न्युड आर्ट गर्दा विभिन्न टीकाटिप्पणीसमेत भए । तर, बिस्तारै पेन्टिङ बुझ्दै गए र अहिले सामान्य रूपमा लिन थालिएको छ ।
एउट कलाकारले आफूभित्रको सीप र क्षमता देखाउन पाउनुपर्छ । अहिले खुलेर काम गर्ने वातावरण बन्दै गएको छ । मान्छे जन्मिँदा नांगै जन्मिन्छ । मरेपछि जलाउने पनि नांगै नै हो । नांगोपन र सेक्स नराम्रो होइन । तर, सेक्सबारे हामी खुलेर कुरा नै गर्दैनौँ । त्यसैले धेरै कुरा समाजका लागि अनौठो लाग्छ ।
मैले न्युड आर्टमा मानिसका दबिएका कथालाई उतारेको छु । मेरो चित्रका पात्रहरू महिला र पुरुष दुवै छन् । मैले महिला सेक्स वर्करको भोगाइलाई पनि चित्रमा उतारेको छु । जसले आफ्ना भोगाइलाई प्रत्यक्ष भन्न सकिरहेका हुँदैनन् । यौन दुव्र्यवहारमा परेकालाई समाजले घृणा गरेको छ, उनीहरूको वेदनालाई ‘न्युड आर्ट’मा उतारेको छु । न्युड आर्ट भन्नेबित्तिकै धेरैको बुझाइ छ– महिलाको मात्रै हुन्छ । पुरुषको पनि न्युड आर्ट गरेको छु । मोडेलहरूको सहमतिमा मात्रै मैले आर्ट गर्ने गरेको छु । उहाँहरू आफैँ आउनुहुन्छ ।
म त्यही भावलाई कलामा उतारिदिन्छु । न्युड आर्टका लागि मोडेल बनेकी एक महिलाले फोन गरेर भनिन्, ‘म किशोरी अवस्थामै बलात्कृत भएपछि निकै कुण्ठा थियो, अप्ठ्यारो र भारीपन थियो, तपाईंको आर्टमा म उतारिएपछि निकै हल्का महसुस भएको छ ।’ बलात्कृत हुँदा जबर्जस्ती नांगिएकी महिलाले स्वेच्छाले न्युड बनेपछि आफूभित्रको भारीपन मेटिएको भन्दै धन्यवाद दिएकी थिइन् । मैले गरेको न्युड आर्टले समाजसँग जोडिएर सन्देश प्रवाह गरेको छ ।
नेपालमा सगरमाथा र मन्दिरहरूको मात्र बढीजसो ल्यान्डस्केप गरिन्छ । ललितकला क्याम्पसमा दुई वर्षको पढाइ सकेर अमेरिका पढ्न जानुअघि मलाई पनि यस्तै लाग्थ्यो । न्युड आर्ट गर्छु भन्ने सोचेकै थिइनँ, त्यहाँ पढेपछि मात्रै जीवनको लक्ष्य नै न्युड आर्टतर्फ मोडियो । अमेरिकामा कला सिक्दा कुन विधा रोज्ने भन्ने अन्योल थियो । सुरुमा गणेश भगवान्को आर्ट गरेँ । पढ्ने क्रममा गुरुले उनलाई ‘न्युड आर्ट’ देखाए । त्यसपछि मेरो लक्ष्य नै यही बन्यो ।
फ्रान्सको प्रदर्शनीमा राखिएको न्युड आर्ट ।
एक लाख डलरसम्मका न्युड आर्ट
मेरो आर्टको मूल्य नौ सय अमेरिकी डलरदेखि एक लाख डलरसम्म छ । यो कलासँगै आर्जनको गतिलो माध्यम पनि हो । मेरा धेरैजसो आर्ट विदेशमा पुग्छन् । विशेषगरी अमेरिका, युरोपका दर्शकले न्युड आर्ट रुचाउँछन् । नेपालमा पनि यस्ता आर्टको भविष्य उज्ज्वल छ । पछिल्लो समय नयाँ पुस्ता पनि यसप्रति आकर्षित भएको छ । तर, कला सिर्जना बढे पनि त्यसको मूल्य बुझ्ने मानसिकताको पूर्ण विकास भइसकेको छैन । विदेशमा आर्टको फराकिलो बजार छ ।
नेपाल फर्किएर न्युड आर्ट गर्न थालेको पनि दुई दशक हुन लाग्यो । मेरो अनुभवले नेपालमा न्युड आर्ट नबिक्ने नै भन्ने पनि होइन । यस्तो कला बुझेका हाई प्रोफाइलले मात्रै किन्छन् । जसको घरमा आउने पाहुनाले कला बुझेका छन्, उसैले मात्रै किन्ने त हो । मैले न्युड आर्टको सुरुवात अमेरिकामै हुँदा गरेँ । त्यहाँ खुला समाज छ । त्यसैले मलाई काम गर्न सजिलो भयो । अमेरिकाको अनुभवले नेपालमा बसेर काम गर्ने थप हिम्मत पनि दियो । अमेरिकाको टेक्सास विश्वविद्यालयमा फाइन आर्टमा डिग्री सकेर फर्किएँ । मैले न्युड आर्ट गर्दा कहिल्यै पनि ढोका बन्द गर्दिनँ । यो सबैले बुझेको विषय हो । मान्छेको जीवनको वास्तविकता हो । यसमा अप्ठ्यारो मान्नुपर्ने कुनै स्थिति नै छैन ।
सुरुवातमा मलाई न्युड आर्ट गर्छ भन्दा सबैले नकारात्मक दृष्टिले हेर्थे । नेपालमा मानिसको सोच बदल्ने कोसिसमा छु । यो कलाको एउटा विधा मात्रै हो, अरूले अर्कै विषयमा पेन्टिङ गर्छन् । म न्युड आर्ट गर्छु र यो मेरो विषय मात्रै हो । त्यही भएर दर्शकले मलाई मज्जाले स्वीकार गरेका छन् । त्यसैले कर्मथलोमा पनि सधैँ प्रफुल्ल छु । मेरोे परिभाषामा न्युड भनेको आर्ट हो । अहिलेसम्म आर्ट हेर्ने दर्शकले पनि नराम्रो कहिल्यै भनेका छैनन् । प्रदर्शनी जाँदा दर्शकले आफ्नो कथा पाएँ भन्नुहुन्छ । आफ्नै कथा अनुभूत भयो भन्नुहुन्छ ।