दूषित पानीले उपत्यकामा हैजा : पाँचजनामा पुष्टि, बिरामी १८ देखि ५५ वर्षका

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा पाँचजनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उनीहरूले प्रयोग गर्ने खानेपानीमा झाडापखाला निम्त्याउने जीवाणु भेटिएको छ । हैजा देखिएका सबै बिरामी १८ देखि ५५ वर्षका छन् । 

हैजा भएर शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना भएका पाँचमध्ये एकजना डिस्चार्ज भएका छन् । टेकु अस्पतालका अनुसार चारैजना बिरामीको सामान्य वार्डमा उपचार भइरहेको छ । महाशाखाका अनुसार हैजा देखिएकामध्ये दुईजना बागबजार, एकजना सानेपा, एकजना कपन र एकजना बल्खुमा बस्दै आएका थिए । 

वर्षायामको सुरुवातीपछि बढेको झाडापखालासँगै अस्पतालमा हैजाका बिरामीसमेत बढ्न थालेका हुन् । हाल अस्पतालमा उपचाररत बिरामीमा हैजाको कारण दूषित पानी रहेको पाइए पनि पानी दूषित भएको कारणबारे अध्ययन भइरहेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । 

हैजाका बिरामी बढ्न थालेपछि कारण पत्ता लगाउन र संक्रमण नियन्त्रणका लागि शंकास्पद बिरामीमा निगरानी र नमुना परीक्षणसमेत बढाइएको छ । काठमाडौंमा देखिएको हैजा थप फैलिन नदिन यसको कारणबारे जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरी अध्ययनसमेत थालेको छ । 

डा. शेरबहादुर पुन : वरिष्ठ सरुवा रोग विशेषज्ञ

उपत्यकामा फोहोर व्यवस्थापन नहुनुका कारण पानी र खाद्यपदार्थमार्फत हैजा समुदायस्तरमा फैलिँदै गएको छ । झाडापखालाजन्य रोगको जोखिम कम गर्न व्यक्तिगत सरसफाइ, पिउने पानी र अन्य खाद्यपदार्थको प्रयोग विधि सुरक्षित राख्न अत्यावश्यक छ । हैजाका लक्षणहरू संक्रमणको दुई घन्टादेखि पाँच दिनभित्रमा देखिन सक्छन् । खासगरी पानीको माध्यमबाट हुने भएकाले एउटै समयमा धेरै व्यक्ति प्रभावित हुने जोखिम बढ्छ । र, प्रत्येक १० बिरामीमध्ये एकजनामा हैजाले गम्भीर समस्या निम्त्याउने भएकाले यो निकै जोखिमयुक्त मानिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अध्ययनको प्रारम्भिक नतिजाले हैजा पुष्टि भएका बिरामीमा खानेपानीबाटै संक्रमण फैलिएको पाइएको छ । थप अध्ययनका लागि पानीको नमुनामा परीक्षण पनि बढाइएको जनाइएको छ । 

हैजा पानीजन्य संक्रमण भएकाले वर्षायाममा संक्रमणको जोखिम कम गर्न सरसफाइ, खानपान र खानेपानीमा विशेष ध्यान दिनुपर्ने भाइरोलोजिस्टहरू बताउँछन् । वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार पानी र खाद्यपदार्थमार्फत हैजा समुदायस्तरमा फैलिँदै गएको हो । 

‘उपत्यकामा फोहोर व्यवस्थापन नहुनुका कारण पानी र खाद्यपदार्थमार्फत हैजा समुदायस्तरमा फैलिँदै गएको छ । झाडापखालाजन्य रोगको जोखिम कम गर्न व्यक्तिगत सरसफाइ, पिउने पानी र अन्य खाद्यपदार्थको प्रयोग विधि सुरक्षित राख्न अत्यावश्यक छ,’ उनले भने, ‘हैजाका लक्षणहरू संक्रमणको दुई घन्टादेखि पाँच दिनभित्रमा देखिन सक्छन् । खासगरी पानीको माध्यमबाट हुने भएकाले एउटै समयमा धेरै व्यक्ति प्रभावित हुने जोखिम बढ्छ । र, प्रत्येक १० बिरामीमध्ये एकजनामा हैजाले गम्भीर समस्या निम्त्याउने भएकाले यो निकै जोखिमयुक्त मानिन्छ ।’ 

चिकित्सकहरूका अनुसार हैजाका बिरामीमा पातलो दिसा हुने, बान्ता हुने, तिर्खा लागिरहने, खुट्टा बाउँडिने, थकान लाग्ने वा चिढिनेजस्ता लक्षण देखिन्छन् । समयमै शरीरमा पानीको मात्रा व्यवस्थित गर्न सकिएन भने जलवियोजनका कारण बिरामीको मृत्यु हुने सम्भावना रहन्छ । डा. पुन भन्छन्, ‘झन्डै ८० प्रतिशतसम्म जीवनजलको प्रयोगबाट जोखिम घटाउन सकिन्छ । यसबाहेक तुरुन्तै एन्टिबायोटिक औषधि र नसाबाट स्लाइन दिनुपर्ने हुन्छ । तर, उपचार समयमै गर्नु अति आवश्यक हुन्छ ।’

भिब्रिओ कोलोरी नामक ब्याक्टेरियाको संक्रमणबाट हुने हैजा कडा किसिमको झाडापखाला हो । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वभर १३ देखि ४० लाख व्यक्ति हैजाबाट प्रभावित हुने गर्छन् । यस्तै, बर्सेनि हैजाका कारण २१ हजारदेखि झन्डै डेढ लाख मानिसको मृत्यु भइरहेको छ । हैजा न्यूनीकरणका लागि विश्वव्यापी रूपमै रणनीति लागू गरिए पनि वर्षायाममा हैजाको जोखिम रहने गरेको छ । 

बढ्दो झाडापखालाका बिरामी 
मनसुन सुरु भएसँगै देशभर नै झाडापखालाका बिरामी अस्पतालसम्म पुग्ने दर बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी बढ्दै गएको चिकित्सक बताउँछन् । सरुवा रोगको उपचार हुने टेकु अस्पतालमा मात्र प्रत्येक दिन पाँचदेखि सातजना झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता नवराज गौतमका अनुसार हाल झाडापखालाका मात्रै १० जना बिरामी उपचाररत छन् । 

See More On

सुझावित समाचार