फर्किने प्रयासमा नेप्से परिसूचक

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक ३९ दशमलव ९३ अंकले बढेर एक हजार नौ सय २४ दशमलव ७४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स आठ दशमलव ९३ प्रतिशतले बढेर तीन सय ७५ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ ।

सोमबार १९ महिनाकै न्यून बिन्दुमा प्रवेश गरेपछि लगानीकर्ता आत्तिन पुगेका थिए । मनोवैज्ञानिक बिन्दुबाट तल खसेको बजार मंगलबार २ प्रतिशतले बढेर फर्किने प्रयासमा देखिएको हो । 

यस दिन एक सय ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । अन्तरदिनको कारोबारका दिन बजार एक हजार नौ सय ३१ बिन्दुसम्म पुगेर तल ओर्लिएको छ । बढेको बजारमा नबिल बैंक ब्यालेन्स फन्ड २, तेह्रथुम पावर कम्पनी, एनआइसी एसिया ब्यालेन्स फन्ड, लक्ष्मी इक्युटी फन्ड र एनमबि ५० का लगानीकर्ताले भने २ प्रतिशतभन्दा बढी गुमाएका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब २५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर किनबेच नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको ११ करोड ७२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने दोस्रोमा नबिल बैंकको चार करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंकको तीन करोड रुपैयाँदेखि तीन करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तीन कम्पनीको सेयर मूल्यमा सर्किट
मंगलबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधी खोला लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुुवित्त वित्तीय संस्था र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । आँधी खोला लघुवित्तको दुई हप्तादेखि लगातार १० प्रतिशतले सकारात्मक सर्किट लाग्दै आएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठ दशमलव ९८ प्रतिशतले बढेको छ भने रिभरफल्सको आठ दशमलव ८८ प्रतिशतले बढेको छ । त्यसैगरी, शिवश्री हाइड्रोपावरको सेयर मूल्य आठ दशमलव ३४ प्रतिशतले बढ्दा यी कम्पनीका लगानीकर्ता उत्साहित बन्न पुगेका छन् ।

मंगलबार कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् । जसमध्ये विकास बैंक समूह, लगानीगत समूह र फाइनान्स समूह सूचक तीन प्रतिशतभन्दा बढीले बढ्दा जलविद्युत् समूह, म्युचुअल फन्ड, जीवन बिमा समूह, निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह, उत्पादनमूलक समूह, ‘अन्य’ समूह, ट्रेडिङ समूह, होटेल तथा पर्यटन समूहको सूचक २ प्रतिशतले बढेको छ । वाणिज्य बैंक समूहको सूचक एक दशमलव २८ प्रतिशतले बढेको छ । 

लगानीकर्ताले आन्दोलनलाई दिए तीव्रता

नेप्से परिसूचक १९ महिनायताकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ताले आन्दोलनलाई तीव्रता दिएका छन् । लगानीकर्ताले १९ बुँदे माग राख्दै सडकदेखि सदनसम्म दबाब दिइरहेका छन् । लगानीकर्ता तिलक कोइरालाले सात दिनदेखि नेपाल धितोपत्र बोर्डको मूलगेटमा अनशन बसेर सरकारलाई दबाब दिइरहेका छन् ।   

सोमबार पुँजी बजारको विषयलाई लिएर प्रधानमन्त्रीलाई नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ध्यानाकर्षण गराएका छन् । मन्त्री थापाले यसअघि पनि सदनमा लगानीकर्ताको मागलाई सम्बोधन गर्न आग्रह गरेका थिए । त्यस्तै, प्रतिपक्ष नेकपा एमाले सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थामा गुज्रिएको भन्दै पुनरुत्थान गर्न जरुरी भएको बताए । सडकदेखि सदनसम्म आवाज उठ्न थालेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको जायज मागलाई तीन महिनाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाउँदै आएका जायज मागहरू सम्बोधन गर्न तीन महिनादेखि काम गरिरहेको र अबको तीन महिनाभित्र सम्बोधन हुने बताए ।  अध्यक्ष हमालले सेयर धितो कर्जामा ४–१२ करोडको सीमा र जोखिम भार बढाउँदा सेयर बजार प्राभावित भएको बताए । अध्यक्ष हमालले पत्रकार सम्मेलनमार्फत लगानीकर्ताको उठाएका जायज माग तीन महिनाभित्र सम्बोधन गर्ने बताएपछि बोर्डअघि धर्ना दिएर बसेका लगानीकर्ता आक्रोशित भएका छन् । सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले सरकारले लगानीकर्ताको ज्यान र लगानीमाथि खेलबाड गरेको बताए । 

See More On

सुझावित समाचार