नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति उत्तरदायी नभएको बताएका छन्। आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री समितिमा नआउनु खेदजनक भएको टिप्पणी गरे।
‘आज प्रधानमन्त्री देउवा नआउनुको कारण संसद्प्रति अनुत्तरदायी, आफैँले बनाएको संविधानका प्रस्तावनाहरूको अवज्ञा । र, अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई माननीय सभापतिज्यूले जानकारी गराउनु भएअनुसार आज बैठक छ, बिहान ८ बजे सचिवालयबाट खबर पठाउनुभयो। त्योभन्दा दुःख लाग्दो कुरो के हुन सक्छ ? यस्तो पनि लोकतान्त्रिक प्रणाली हुन्छ र कतै मुलुकमा ? संसारको कुनै हाम्रो जस्तो प्रणाली भएको देशमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वा कुनै पनि समितिमा आउँछु भनेर अकारण गम्भीर मानवीय समस्या परेकोबाहेक, दुई घण्टाअगाडि म आउँदिनँ भनेर आफ्नो सचिवालयबाट खबर दिनु कहीँ सुनेको, पढेका छौँ हामी कसैले ? यो खेदजनक कुरा हो,’ उनले भने।
गम्भीर मानवीय समस्याबाहेक प्रधानमन्त्री अन्तिम समयमा संसदीय समितिमा नगएको भन्ने कुरा आफूले आजसम्म थाहा नपाएको भन्दै उनले समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताए।