नुवाकोटको बेलकाेटगढी नगरपालिका– ३ की अध्यक्ष कौशिला पुडासैनीले देशमा सुरुवाती समयमै मनसुन सक्रिय भएर लगातार परिरहेको वर्षाबाट हुने क्षतिबाट सचेत हुन वडावासीलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फ उनले अबको करिब तीन महिना पहिरो र खहरे खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै समयमै सचेतता अपनाउन आग्रह गरेकी हुन् ।
वडाका ग्रामीण भूभागमा धेरैजसो सडकमा व्यवस्थित नाली नभएकाले पानी परेको समयमा सडकबाट बग्ने र पानीले धार परिवर्तन गरी बस्ती र खेतीयोग्य जमिनमा प्रवेश गर्न सक्ने हुँदा बस्तीवरिपरि रहेका सडकबाट बग्ने पानीलाई खोल्सासम्म पुर्याउन समुदाय मिलेर काम गर्न आग्रह गरेकी छिन् ।
पुर्खाले खेतीपाती गर्दा काट्दै आएका पुराना भल पत्ता लगाई सफाइको लागि ढिलो नगर्नसमेत सुझाएकी छिन् । त्यस्तै ठूला तथा साना पहिरो जाने सम्भावित ठाउँ पहिचानका लागि आफ्नो घर तलमाथि जमिनमा चिराहरू देखिन सक्ने हुँदा पानी रोकिएको समयमा वेलैमा करिब तीन सय मिटर घरवरिपरि र तलमाथि गएर हेर्न र पत्ता लगाउन पनि उनले आग्रह गरेकी छिन् । केही गरी समस्या आइपरे नआत्तीकन सतर्क र संयमित हुन आग्रह गर्दै आफू जुनसुकै समयमा पनि वडावासीको सेवामा समर्पित भएको हुँदा सहयोग चाहिए सम्पर्क गर्न आग्रह गरेकी छिन् ।