सेयर बजारमा आइरहेको गिरावट रोकिएको छैन । मंगलबार नेप्से परिसूचक ३६ दशमलव शून्य ८ अंकले घटेर एक हजार नौ सय ९६ दशमलव २५ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४८ अंकले घटेर तीन सय ८३ दशमलव ५१ बिन्दुमा आइपुगेको छ ।
दुई हजारको मनोवैज्ञानिक बिन्दुबाट ओर्लिएपछि लगानीकर्ता झनै आत्तिएका छन् । लगानीकर्ता बजार घटिरहेको भन्दै नीतिगत सुधारका लागि आन्दोलनमा छन् । तर, बजार भने झनै घटिरहेको छ । आत्तिएर लगानीकर्ताले प्यानिक सेलिङ गरेका छन् । बजार घटे पनि कारोबार रकम भने बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै सेयर खरिद–बिक्री हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । यसको चार करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसिसी), नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंकको सेयर तीन करोड रुपैयाँदेखि तीन करोड ७९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।यस दिन पाँचवटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ९० वटा कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । ‘अन्य’ समूह र ट्रेडिङ समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । निर्जीवन बिमा, जलविद्युत् समूह, फाइनान्स समूह र विकास बैंक समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । होटेल तथा पर्यटन समूह, जीवन बिमा समूह, उत्पादनमूलक समूह, माइक्रो फाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरको सेयर मूल्य आठ दशमलव १५ प्रतिशतले घटेको छ । बलेफीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि मूल्य बढिरहेको थियो । साताअघिलेखि लगातार सर्किट मूल्यमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य मंगलबार घटेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी, ग्रिन भेन्चर्स ६ प्रतिशतभन्दा बढीले बढेको छ । घटेको बजारमा आँधी खोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । संस्थाको सेयर मूल्य आठ दशमलव १८ प्रतिशतले बढेको छ । एनएमबि ५०, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य २ प्रतिशतदेखि चार दशमलव १० प्रतिशतले बढेको छ ।